बैशाख २४, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका प्रविधिमैत्री प्रशासनिक सञ्चालन तथा व्यवस्थापनतर्फ अघि बढ्दै गएको छ। गाउँपालिकाले कार्यालयमा विद्युतिय हाजिरी प्रणाली जडान कार्य सम्पन्न गरेसँगै वडा कार्यालय, स्वास्थ्य चौकी तथा सबै विद्यालयमा समेत उक्त प्रणाली विस्तार गर्ने कार्य सुरु गरेको जनाएको छ। गाउँपालिकाले सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै विद्युतिय हाजिरी प्रणाली लागू गरेको हो।
यस प्रणालीबाट कर्मचारीको उपस्थितिलाई व्यवस्थित गर्न, समय व्यवस्थापन सुधार गर्न तथा प्रशासनिक कामकारबाहीलाई चुस्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसअघि पनि गाउँपालिकामा विद्युतिय हाजिरी प्रणाली सञ्चालनमा ल्याइएको भए पनि विभिन्न प्राविधिक तथा व्यवस्थापकीय समस्याका कारण प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको सहकर्मी ठविन्द्र मगरले जानकारी दिनुभयो।
उहाँका अनुसार अहिले भने आवश्यक सुधार तथा व्यवस्थापनसहित पुनः प्रणाली विस्तारको काम अघि बढाइएको हो। गाउँपालिकाले आगामी दिनमा सबै वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा प्रणाली पूर्ण रूपमा कार्यान्वयन गरी डिजिटल प्रशासनलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।










Discussion about this post