बैशाख २७, सोलुखुम्बु । विजय घिमिरे विश्वकर्माको सगरमाथा आरोहणका क्रममा निधन भएको छ। दलित समुदायबाट पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी इतिहास रचेका घिमिरेको आइतबार आधार शिविर क्षेत्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार ३६ वर्षीय घिमिरे आज बिहान करिब ४ बजे सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेपछि अचानक बिरामी परेका थिए।
उनलाई टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या हुने तथा पेट दुख्ने लक्षण देखिएको थियो। अवस्था गम्भीर बनेपछि तत्काल आधार शिविरतर्फ फर्काउने प्रयास गरिएको थियो। उद्धारका क्रममा बिहान करिब ९ः३० बजे बाटोमै उनको निधन भएको प्रहरी निरीक्षक राईले जानकारी दिएका छन्। ट्रेक नेपाल कम्पनी मार्फत आरोहण अभियानमा सहभागी घिमिरेको शव हेलिकोप्टरमार्फत उद्धार गरी लुक्ला हेलिप्याड ल्याइएको छ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी निरीक्षक तुलबहादुर सलामीको नेतृत्वमा टोली खटिएको छ। ट्रेक नेपाल कम्पनीका अनुसार शव पोस्टमार्टमका लागि काठमाडौंस्थित शिक्षक अस्पताल ल्याउने तयारी भइरहेको छ। सोलुदुधकुण्ड नगरपालिका–७ भित्ताखर्क निवासी घिमिरे दलित समुदायबाट सगरमाथा शिखर चुम्ने पहिलो आरोहीका रूपमा परिचित थिए। कठिन संघर्ष र अभावबीच पर्वतारोहण यात्रामा अघि बढेका उनले पटक–पटक सगरमाथा आरोहण गरिसकेका थिए। पछिल्लो समय उनी पर्वतारोहण गाइडका रूपमा समेत सक्रिय थिए।











Discussion about this post