जेठ ३०, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ले घरबारविहीन तथा विपन्न परिवारका लागि जस्तापाताको छानासहितका भूकम्पप्रतिरोधी नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको छ। सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत नगरपालिकाले वडा नं १० अर्खौलेस्थित नागीका टेकबहादुर सार्कीको परिवारलाई दुई कोठे भूकम्पप्रतिरोधी घर निर्माण गरेर हस्तान्तरण गरेको हो।
बिहान–बेलुकाको छाक टार्नसमेत कठिनाइ भोग्दै आएका सार्की परिवार लामो समयदेखि स्थायी आवासविहीन अवस्थामा जीवनयापन गर्दै आएका थिए। नगरप्रमुख विमला राई का अनुसार नगरपालिकाले यस कार्यक्रममार्फत तीन विपन्न परिवारलाई भूकम्पप्रतिरोधी घर उपलब्ध गराएको छ।
नयाँ घर प्राप्त गरेपछि फिरन्ते जीवन बिताउँदै आएका सार्की परिवारले खुसी व्यक्त गरेका छन्।नगरपालिकाको १३६औँ कार्यपालिका बैठकले तीन विपन्न परिवारका लागि भूकम्पप्रतिरोधी घर निर्माण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार अर्खौलेका टेकबहादुर सार्की, मङ्गलटारका भया दमाई र डिकुवाका देशवीर राईका लागि प्रतिपरिवार रु पाँच लाख बराबरको लागतमा घर निर्माण गरिएको नगर प्रवक्ता तथा वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरी ले जानकारी दिनुभयो ।
अर्खौलेमा जन्मिएका टेकबहादुर सार्की करिब १२ वर्षदेखि गाउँबाहिर विभिन्न व्यक्तिका घरमा आश्रित जीवन बिताउँदै आएका थिए। गत भदौमा गाउँ फर्किएका उनी दैनिक ज्यालादारी तथा बनीबुतोको काम गरेर परिवारको जीविकोपार्जन गर्दै आएका छन्। उनको परिवारमा श्रीमती र १० वर्षीय एक छोरा रहेका छन्।
यसैबीच, हलेसी तुवाचुङ नगरपालिकाले राजधानी काठमाडौं तथा तराईका विभिन्न जिल्लामा अस्थायी रूपमा बसोबास गरिरहेका र घरटहरा हटाइएपछि विस्थापित भएका नगरवासीलाई समेत आवश्यकताअनुसार घर निर्माण गरेर सहयोग गर्ने जनाएको छ। नगरपालिकाको यो पहलले विपन्न तथा आवासविहीन परिवारको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।











Discussion about this post