असार १०, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष मिङमाछिरी शेर्पाको अध्यक्षतामा सम्पन्न सभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल १ अर्ब २५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो। गाउँसभामा बोल्दै अध्यक्ष शेर्पाले विश्वप्रसिद्ध पर्यटकीय क्षेत्र खुम्बुको दिगो विकास, रैथाने संस्कृति संरक्षण तथा स्थानीय बासिन्दाको जीवनस्तर उकास्ने उद्देश्यका साथ यो बजेट ल्याइएको बताउनुभयो।
उहाँका अनुसार यो बजेटले गाउँपालिकाको विकास यात्रामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। बजेटमा विशेषगरी पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। खुम्बुको प्रमुख आर्थिक आधार मानिने पर्यटनलाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउन पूर्वाधार विकासका कामलाई उच्च प्राथमिकता दिइने भएको छ।
त्यसैगरी, प्रत्येक घरधुरीमा गुणस्तरीय विद्युत सेवा पुर्याउन ग्रामीण विद्युतीकरण कार्यक्रमलाई तीव्रता दिने योजना छ। यातायात सहज बनाउन सडक सञ्जालको स्तरोन्नति र विस्तारलाई निरन्तरता दिइनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि बजेटमा प्राथमिकतामा राखिएको छ।
स्थानीयस्तरमै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र नागरिकलाई सर्वसुलभ तथा आधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।यसैगरी, स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने र पर्यटकीय क्षेत्र खुम्बुमा देखिएको फोहोरमैला व्यवस्थापनको चुनौतीलाई वैज्ञानिक र दीगो तरिकाले समाधान गर्ने विषयमा पनि विशेष जोड दिइएको छ।











Discussion about this post