असार ११, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिकाको १९औँ गाउँसभाले आर्थिक वर्ष २०८३/८४ का लागि ४१ करोड १७ लाख २८ हजार रुपैयाँको बजेट पारित गरेको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेर ल्याएको जनाएको छ। गाउँसभामा प्रस्तुत बजेटले स्थानीय स्रोत–साधनको प्रभावकारी परिचालन, आधारभूत सेवाको पहुँच विस्तार तथा समग्र विकासलाई केन्द्रमा राखेको गाउँपालिकाले जनाएको छ।
बजेटमार्फत गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, रैथाने कृषि प्रवर्द्धन, पर्यटन विकास, रोजगारी सिर्जना तथा वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गरिने बताइएको छ। गाउँपालिकाले “उज्यालो ताप्ली, दिगो विकास, बालमैत्री सहितको पूर्वाधार, स्वास्थ्य, रैथाने कृषि, पर्यटन, रोजगार, हरियाली ताप्ली समृद्धिको आधार” भन्ने नारासहित बजेट सार्वजनिक गरेको हो। उक्त नारालाई आत्मसात् गर्दै विकास निर्माणका योजनालाई जनमुखी, समावेशी र दिगो बनाउने लक्ष्य लिइएको गाउँपालिकाको भनाइ छ।
बजेटले ग्रामीण सडक, खानेपानी, सिंचाइ, विद्यालय तथा स्वास्थ्य संस्थाको स्तरोन्नतिलाई समेत विशेष महत्व दिएको छ। कृषि उत्पादन वृद्धि, युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने कार्यक्रम तथा पर्यटन क्षेत्रको सम्भावना उपयोग गर्ने योजनाहरू पनि बजेटमा समेटिएका छन्।











Discussion about this post