असार १३, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले परम्परागत रूपमा उत्पादन हुँदै आएको कोदोको ‘तीनपाने’ घरेलु मदिरालाई आधिकारिक रूपमा ब्रान्डिङ र लेबलिङ गर्दै बजारमा ल्याएको छ । स्थानीय उत्पादनलाई गुणस्तरीय, सुरक्षित र पहिचानयुक्त बनाउने उद्देश्यले नगरपालिकाले ‘हलेसी सांस्कृतिक कोसेली’ नामबाट तीनपाने रक्सी ब्रान्डिङसहित बजारमा ल्याएको हो ।
अब यो ब्रान्डको तीनपाने रक्सी हलेसी होमस्टे र चाम्लिङ सामुदायिक होमस्टेमार्फत पर्यटक तथा उपभोक्ताका लागि उपलब्ध हुनेछ । नगरपालिका प्रमुख बिमला राईका अनुसार उत्पादनको गुणस्तर सुनिश्चित गर्न तीनपाने रक्सीमा अल्कोहलको मात्रा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा सामान्य बजारमा पाइने अधिकांश घरेलु मदिरामा २० देखि २५ प्रतिशतसम्म अल्कोहल रहेको पाइए पनि कोदोबाट उत्पादन गरिएको तीनपानेमा करिब ४५ प्रतिशत अल्कोहल रहेको देखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार उत्पादनमा एकरूपता कायम राख्न अब तीनपाने रक्सीमा ४० देखि ५० प्रतिशतसम्म अल्कोहलको मापदण्ड लागू गरिएको छ ।
सोही मापदण्डअनुसार उत्पादन प्रक्रिया व्यवस्थित बनाउन नगरपालिकाले हलेसी होमस्टे र चाम्लिङ सामुदायिक होमस्टेलाई १० वटा अल्कोहल मापन गर्ने उपकरण तथा करिब १८ हजार थान विभिन्न आकारका बोतल निःशुल्क हस्तान्तरण गरेको छ । नगरपालिकाले यस पहलले स्थानीय रूपमा उत्पादन हुने परम्परागत पेयलाई सुरक्षित, गुणस्तरीय र बजारयोग्य उत्पादनका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।
साथै स्थानीय उत्पादनको व्यावसायीकरण, ग्रामीण उद्यमशीलता प्रवद्र्धन तथा पर्यटन विकासमा समेत यस कार्यक्रमले सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ । परम्परागत नेपाली घरेलु मदिरालाई आधुनिक मापदण्डअनुसार उत्पादन र प्रवद्र्धन गर्ने नगरपालिकाको यो प्रयासले स्थानीय संस्कृति र मौलिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन समेत मद्दत पुग्ने विश्वास गरिएको छ ।











Discussion about this post