सोलुखुम्बु, असार १७ । उदयपुरको ताप्ली गाउँपालिका–४ ठानागाउँलाई बालमैत्री स्थानीय शासनका सबै आवश्यक सूचक पूरा गरेपछि गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा गरिएको छ। बुधबार आयोजित विशेष कार्यक्रममा “उज्यालो ताप्ली, दिगो विकास; बालमैत्री सहितको पूर्वाधार, स्वास्थ्य, कृषि, पर्यटन र रोजगार, हरियाली ताप्ली समृद्धिको आधार” भन्ने मूल नारासहित वडालाई औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरिएको हो।
सहकर्मी ठविन्द्र मगरका अनुसार नेपाल सरकारले प्रतिपादन गरेको बालमैत्री स्थानीय शासनका ५१ वटा सूचक पूरा गरेपछि घोषणा प्रक्रिया सम्पन्न भएको हो। बालमैत्री वडा घोषणा अभियानमा ताप्ली गाउँपालिकासँगै प्राविधिक तथा कार्यसम्पादन सहजीकरणमा वल्र्ड भिजन इन्टरनेसनल नेपाल तथा साझेदार संस्था जाल्पा एकीकृत विकास समाज र हुरेण्डेक उदयपुरले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
बालबालिकाको सर्वाङ्गीण विकास, संरक्षण तथा बालअधिकारको सुनिश्चिततालाई प्राथमिकतामा राख्दै आवश्यक पूर्वाधार, सेवा र कार्यक्रमहरू कार्यान्वयन गरिएकाले बालमैत्री वडा घोषणा सम्भव भएको जनाइएको छ। यसै अवसरमा वडा नम्बर ४ को नवनिर्मित वडा कार्यालय भवनको समेत उद्घाटन गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, बाल क्लब, बाल सञ्जाल, विभिन्न संघसंस्थाका प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा स्थानीय भद्रभलादमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।










Discussion about this post