असार, असार २१ । रोटरी क्लब अफ काठमाडौं वेस्टको २६औँ पदस्थापन समारोह आइतबार काठमाडौंमा सम्पन्न भएको छ। समारोहसँगै समाजसेवी निमा शेर्पाले क्लबको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा ग्रहण गर्नुभएको छ। नवनिर्वाचित अध्यक्ष शेर्पाको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।
पदभार ग्रहणपछि उहाँले आगामी कार्यकालमा स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा सामाजिक सेवालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। उहाँका अनुसार हेल्थ क्याम्प, वृक्षारोपण, रक्तदान, विद्यालयहरूमा ई–ल्याब स्थापना, अन्तरक्रिया कार्यक्रम तथा अन्य समुदायमुखी अभियानलाई प्रभावकारी रूपमा अघि बढाइनेछ। साथै, आगामी वर्ष सोलुखुम्बुको फाप्लुमा अर्थोपेडिक तथा नाक–कान–घाँटी (ईएनटी) सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने र महाकुलुङका विद्यालयहरूमा कम्प्युटर वितरण गरिने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै रोटरी डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीले नवनिर्वाचित अध्यक्ष निमा शेर्पा तथा नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले रोटरीको मूल भावना अनुरूप समाजसेवामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै समुदायमा सकारात्मक परिवर्तन ल्याउन नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गर्नुभयो। समारोहमा रोटरीका पदाधिकारी, विभिन्न क्षेत्रका समाजसेवी तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।










Discussion about this post