सबिना राई, सोलुखुम्बु, २३ असार । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा नागरिक स्वास्थ्य उपचार सेवा सुविधा प्राप्त गर्ने लाभान्वित नागरिकहरूको विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले सूचना जारी गर्दै ‘नागरिक स्वास्थ्य उपचार सेवा कोष सञ्चालन (पहिलो संशोधन) कार्यविधि, २०८१’ को व्यवस्था बमोजिम सहयोग प्राप्त गर्ने ६८ जना बिरामीहरूको विवरण सार्वजनिक गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमका अनुसार उक्त आर्थिक वर्षमा नागरिकको स्वास्थ्य उपचारका लागि कुल ९७ लाख ९५ हजार ३ सय ९८ रुपैयाँ ३४ पैसा खर्च भएको छ । यसमध्ये करबाहेकको जम्मा रकम ९६ लाख ९९ हजार ८६ रुपैयाँ ४८ पैसा रहेको छ भने ९६ हजार ३ सय ११ रुपैयाँ ८६ पैसा कर कट्टी गरिएको छ । गाउँपालिकाले सार्वजनिक गरेको ६८ जनाको सूचीमा विभिन्न वडाका रैथाने तथा विपन्न नागरिकहरू समेटिएका छन् ।
गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मका बिरामी तथा उनीहरूका आश्रित परिवारले यो सुविधा पाएका हुन् । विवरण अनुसार बिरामीहरूलाई असोज, माघ, चैत र असार महिनामा गरी विभिन्न चरणमा रकम भुक्तानी गरिएको छ । भौगोलिक रूपमा अत्यन्तै विकट र खर्चिलो मानिने खुम्बु क्षेत्रका नागरिकहरूलाई गम्भीर रोग तथा स्वास्थ्य उपचारमा आर्थिक राहत दिने उद्देश्यले गाउँपालिकाले यो कोष सञ्चालन गर्दै आएको छ । स्थानीय सरकारले नागरिकको स्वास्थ्य अधिकारलाई प्राथमिकतामा राख्दै वितरण गरिएको रकमको पारदर्शिता र सुशासन कायम गर्न सरोकारवाला सबैको जानकारीका लागि यो विवरण सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ ।










Discussion about this post