असार २३, सोलुखुम्बु । जिल्ला ट्राफिक प्रहरुी कार्यालय सोलुखुम्बुलाई सोताङ गाउँपालिका सोलुखुम्बुले ब्रेथलाइजर मेसीन खरिद गरिदिएको छ । गाउँपालिकाले मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकको परीक्षणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुलाई ब्रेथलाइजर (मादक पदार्थ सेवन परीक्षण गर्ने उपकरण) उपलब्ध गराएको हो । आइतबार गाउँपालिकाले करिब रु. १ लाख ५८ हजार मूल्यको उक्त उपकरण जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो। आधुनिक प्रविधिको प्रयोगमार्फत ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले उपकरण उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले उपकरण उपलब्ध गराएकोमा सोताङ गाउँपालिकाप्रति आभार व्यक्त गरेको छ। कार्यालयले आधुनिक उपकरणको प्रयोगबाट मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकको पहिचान गर्न सहज हुने र ट्राफिक नियम कार्यान्वयन थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी सहायक हवल्दार चन्द्रबहादुर बस्नेतका अनुसार सवारी दुर्घटना न्यूनीकरणका लागि चालक स्वयं सचेत हुनु आवश्यक छ। उनले मादक पदार्थ सेवन गरी सवारी नचलाउन, बिना सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सवारी सञ्चालन नगर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न सबै चालकलाई आग्रह गर्नुभयाे ।
उहाँले ट्राफिक नियमको पालना गरेमा दुर्घटनाको जोखिम स्वतः घट्ने उल्लेख गर्दै सुरक्षित यात्राका लागि जिम्मेवार चालकको भूमिका निर्वाह गर्न सबैसँग अनुरोध गर्नुभएकाे छ ।










Discussion about this post