सोलुखुम्बु, असार २० गते। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–१ नेले, तुम्से क्षेत्रमा बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। माप्य दुधकोशी गाउँपालिका–४ घर भई हाल थुलुङ दुधकोशी गाउँपालिका–१ नेले, तुम्सेस्थित शर्मिला राईको घरमा डेरा गरी बस्दै आएकी ३५ वर्षीया कमला विक शुक्रबार बिहान करिब ८ : ३० बजे गाउँमा कोदो रोप्न जाने भन्दै घरबाट हिँडेकी थिइन्।
त्यसपछि उनी घर नफर्किएको तथा आफन्त वा चिनेजानेका कसैसँग पनि सम्पर्कमा नआएपछि खोजतलास गरिदिन परिवारले असार १९ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा लिखित निवेदन दिएका थिए। निवेदनपछि परिचालित प्रहरी टोलीले खोजतलास गर्ने क्रममा शनिबार साँझ करिब ४ : ३० बजे थुलुङ दुधकोशी गाउँपालिका–१ तुम्से, कार्मेस्थित रिन्जी शेर्पाको बारी नजिक रहेको ओडारमा कमला विकको सडगलेको अवस्थामा शव फेला पारेको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शवगृहमा ल्याइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आशङ्कामा एक जनालाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिनुभयो।










Discussion about this post