असार २८, सोलुखुम्बु । सोलुखुम्बुमा कर्तव्य ज्यान सम्बन्धी कसूरका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा थुलुङ दुधकोशी गाउँपालिका–१, नेले जोगरा बस्ने ३५ वर्षीय बिकास भन्ने योगेन्द्र कटुवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार माप्यदुधकोशी गाउँपालिका–४, काँकु सरिमा टोल स्थायी घर भई विगत १० वर्षदेखि थुलुङ दुधकोशी गाउँपालिका–१, नेले तुम्सेस्थित सर्मिला राईको घरमा कोठा भाडामा बस्दै आएकी ३७ वर्षीया कमला वि.क. मृत अवस्थामा फेला परेपछि कटुवाललाई पक्राउ गरिएको हो ।
गत असार १६ गते बिहान अन्दाजी ९ : १५ बजेको समयमा छिमेकीको बारीमा कोदो रोप्न जान्छु भनी आफ्नो १० वर्षीय नाबालक छोरालाई जानकारी गराएर हिँडेकी कमला सोही दिनदेखि हराई बेपत्ता भएकी थिइन् । उनी फेला नपरेपछि घरबेटी सर्मिला राईले असार १९ गते जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि हुलियासहित निवेदन दिनुभएको थियो ।
निवेदनका आधारमा खोजतलास गर्ने क्रममा प्रतिवादी योगेन्द्र कटुवालकै सूचनाको आधारमा असार २७ गते बेलुका अन्दाजी ४ : ३० बजेको समयमा तुम्से डाँडास्थित ठुलो ढुङ्गाको ओडारभित्र लछीमाया वि.क.को शव सडीगली मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनामा संलग्नताको आशङ्कामा कटुवाललाई कर्तव्य ज्यान कसूरमा पक्राउ गरी सोलुखुम्बु जिल्ला अदालतबाट पहिलो पटक दिन ६ को म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिनुभयो ।










Discussion about this post