असार २९, सोलुखुम्बु । सोलुखुम्बुसहित देशका मध्य तथा पूर्वी भेगका विभिन्न जिल्लामा गएराति ठूलो वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुनसरी, उदयपुर, सिन्धुली, नवलपरासी, पाल्पा, झापा, मकवानपुर, म्याग्दी लगायतका जिल्लामा पनि उल्लेख्य वर्षा भएको हो।
काठमाडौँ उपत्यकासहित अन्य धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको र केही क्षेत्रमा अहिले पनि पानी परिरहेको महाशाखाले जनाएको छ। यता, कैलालीस्थित कटेनी नदीको रतनपुर जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र तथा डुबान हुने होचा भूभागका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार आज र भोलि पनि देशका धेरै स्थानमा हल्कादेखि ठूलो वर्षाको सम्भावना रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ।











Discussion about this post