असार ३२, सोलुखुम्बु । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरप्रमुख कालुमान लामाको प्रमुख आतिथ्यता तथा उपप्रमुख मनिका देवी दुलालको विशेष उपस्थितिमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो । कार्यक्रममा तेस्रो चौमासिक अवधिमा नगरपालिकाले सम्पादन गरेका विकास निर्माणका कार्य, सेवा प्रवाह तथा अन्य गतिविधिबारे जानकारी प्रस्तुत गरिएको थियो।

सहभागीहरूले राखेका सुझाव, जिज्ञासा तथा गुनासाबारे सम्बन्धित पदाधिकारीहरूले जवाफ दिँदै आवश्यक विषयमा स्पष्ट पारेका थिए। सार्वजनिक सुनुवाइमार्फत नागरिकसँग प्रत्यक्ष संवाद स्थापित गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितालाई थप सुदृढ बनाउने तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता नगरपालिकाले पुनः व्यक्त गरेको जनाएको छ।

नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रमले सेवा प्रवाहमा सुधार, नागरिकका गुनासा तथा सुझावको सम्बोधन र स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत काजीमान राई, जनप्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष, विभिन्न शाखाका शाखा प्रमुख, नगरपालिकाका कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।











Discussion about this post