साउन ५,साेलुखुम्बु। गत चैत २ गते आएको हावाहुरीबाट घर तथा आवासमा क्षति पुगेका आमचोक गाउँपालिका–५ का १० परिवारलाई पुनःनिर्माणका लागि गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ। हावाहुरीका कारण घरमा भएको क्षतिको प्रकृतिका आधारमा गाउँपालिकाले राहतस्वरूप आर्थिक सहयोग वितरण गरेको हो। वडा नम्बर ५ का अध्यक्ष रामप्रसाद राईका अनुसार ‘क’ वर्गमा वर्गीकृत पूर्णरूपमा क्षति भएका २ परिवारलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको छ।
त्यसैगरी आंशिक क्षति भएका ८ परिवारलाई जनही १० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराइएको छ। वडा अध्यक्ष राईले विपद्बाट प्रभावित परिवारलाई घर पुनःनिर्माण तथा बसोबास व्यवस्थापनमा केही राहत पुग्ने उद्देश्यले गाउँपालिकाले सहयोग गरेको जानकारी दिए। उनले भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित आवास निर्माण र पूर्वतयारीमा पनि स्थानीय सरकारको ध्यान केन्द्रित रहने बताए। गाउँपालिकाले विपद्का कारण समस्यामा परेका नागरिकलाई आवश्यकताअनुसार सहयोग गर्दै जाने प्रतिबद्धता जनाएको छ।










Discussion about this post