सोलुखुम्बु, साउन १३ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट टाक्सीन्धु जान हिँडेको बोलेरो माथी ढुंगा खसेको छ । सल्लेरीबाट सोलुदुधकुण्ड नगरपालिका १ जाँदै गरेको वडा अध्यक्ष छोङबा शेर्पाको बोलेरो जिपमाथि बुधबार भिरबाट ढुंगा खस्दा सवारीसाधनमा क्षति पुगेको छ । बोलेरोमा चालक वडा अध्यक्ष छोङवा शेर्पा सहित वडा सचिव कृष्ण भक्त पनेरु, स्वास्थ्य चौकी टाक्सिन्दुका स्वास्थ्य चौकी इन्चार्ज भद्र बहादुर खड्का र एक जना विदेशी पर्यटक सवार हेका थिए ।
सवार यात्रु तथा चालक भने सकुशल रहेका छन् । बा.प्र. १ ०३१ च ४१४३ नम्बरको बोलेरो जीप सोलुदूधकुण्ड नगरपालिका–२ चिवाँङखोप क्षेत्रमा सडकमा गुडिरहेको बेला बुधबार विहान करिव १०ः३० बजे सडकमाथीको भिरबाट एक्कासि खसेको ठूलो ढुंगाले गाडीको अगाडिको भागमा लागेको हो ।
ढुङ्गाको ठक्करबाट जिपको अगाडिको भागमा गम्भीर क्षति पुगेको छ । घटनाका बेला गाडीमा चालकसहित यात्रु सवार रहेका भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । अचानक ढुङ्गा खसे पनि ठूलो दुर्घटना टरेको भन्दै यात्रुले भाग्यले जोगिएको प्रतिक्रिया दिएका छन् ।
वर्षायामसँगै पहाडी सडकमा पहिरो र ढुङ्गा खस्ने जोखिम बढेकाले सवारी चालक तथा यात्रुलाई विशेष सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गर्दै आएको छ। विशेषगरी सल्लेरी–सुर्के–लुक्ला सडकखण्डका विभिन्न स्थानमा वर्षायाममा ढुङ्गा खस्ने समस्या दोहोरिने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानीपूर्वक यात्रा गर्न सरोकारवालाले अनुरोध गरेका छन् । घटनापछि केही समय सडकमा आवागमन प्रभावित भए पनि अवस्था सामान्य बन्दै गएको जनाइएको छ।










Discussion about this post