सोलुखुम्बु, साउन १३ । सोलुखुम्बुबाट पछिल्ला पाँच आर्थिक वर्षमा तीन लाख २३ हजार ९ सय ६८ किलोग्राम जडीबुटी तथा गैरकाष्ठ वन पैदावार निकासी भएको छ । डिभिजन वन कार्यालय सोलुखुम्बुले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म जिल्लाका सामुदायिक, निजी तथा राष्ट्रिय वन क्षेत्रबाट उक्त परिमाणमा जडीबुटी निकासी भएको हो ।
कार्यालयका वन अधिकृत तथा सूचना अधिकारी रामचन्द्र ठाकुरका अनुसार आर्थिक वर्ष २०७८/७९ मा एक लाख ८ हजार ८ सय ३५ किलोग्राम जडीबुटी निकासी हुँदा २६ हजार ८ सय रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७९/८० मा २७ हजार ४ सय किलोग्राम निकासीबाट ४१ हजार ५ सय ३० रुपैयाँ, २०८०/८१ मा ३३ हजार ३ सय ६० किलोग्राम निकासीबाट ५ हजार ४ सय ६० रुपैयाँ, २०८१/८२ मा ८२ हजार ७ सय ७३ किलोग्राम निकासीबाट ७५ हजार १ सय रुपैयाँ तथा २०८२/८३ मा ७१ हजार ६ सय किलोग्राम निकासीबाट ८ हजार ७ सय २० रुपैयाँ मूल्य अभिवृद्धि कर सङ्कलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लाको लिखुपिके, सोताङ, महाकुलुङ र माप्यदुधकोशी गाउँपालिका क्षेत्रबाट सबैभन्दा बढी मात्रामा गैरकाष्ठ वन पैदावार निकासी हुने गरेको छ । जिल्लाबाट मछिनो, चिराइतो, मजिठो, लोक्ता, अर्गेली, कालो तथा सेतो मुस्ली, धुपीको पात र चोइटा, मलागिरी, तितेपाती, विषजरा, गोब्रे सल्लाको पात, कुट्की, पदमचाल, पाखनभेद र बुकीफूल लगायत जडीबुटी निकासी हुने गरेको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाबाट सङ्कलन गरिएका जडीबुटी औषधिजन्य प्रयोजनका लागि झापा, काँकडभिट्टा र काठमाडौँ हुँदै भारत निर्यात हुने गरेका छन् ।
जिल्लामा जडीबुटी खेतीको प्रचुर सम्भावना रहे पनि कुन स्थानमा कुन प्रजातिको जडीबुटी उपयुक्त हुन्छ भन्ने वैज्ञानिक पहिचान हुन नसक्दा यसको व्यावसायिक विस्तारमा चुनौती देखिएको डिभिजन वन कार्यालयका वन अधिकृत तथा सूचना अधिकारी ठाकुरले बताउनुभयो ।










Discussion about this post