साउन १४, सोलुखुम्बु । चिकित्सक आन्दोलनका कारण देशभर बन्द रहेको सरकारी अस्पतालको सेवा सुचारु भएसँगै हिमाली जिल्ला सोलुखुम्बुमा पनि नागरिकहरूले सेवा पाउन थालेका छन् । पर्साको एक अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु भएपश्चात डाक्टर माथि भएको कुटपिट र अस्पताल परिसरमा तोडफोडका घटना भएपछि डाक्टरहरूको आन्दोलन स्वरुप २ दिन ओपिडी सेवा बन्दरहेको थियो । तर बुधबार सरकार र डाक्टरहरू बीच सहमति भएपछि चिकित्सक सङ्घले सेवा सुचारु गर्ने निर्णय गरेसँगै आजबाट निर्वाध रुपमा अस्पतालमा नागरिकले सेवा लिइरहेका छन् । जिल्ला अस्पताल फाप्लुमा २ दिनको अन्तराल पछि आज बिरामीहरूको सङ्ख्या उल्लेख्य बढेको छ ।
२ दिन सम्म अस्पतालको बहिरङ्ग सेवा बन्द हुँदा समस्यामा परेका बिरामीहरूले आज सेवा लिइरहेको जिल्ला अस्पताल फाप्लुका डाक्टर बिनेश मण्डलले बताउनुभयो । उहाँले बिरामीको उपचार गर्दै गर्दा कुनै पनि डाक्टरले कुभलो नचिताउने तर कुनै तलमाथि भए उल्टै डाक्टरले कुटाइ खानुपर्ने र साङ्घातिक आक्रमण सहनुपर्ने अवस्था ठिक नभएको भन्दै आफूहरू आन्दोलनमा उत्रिएको उल्लेख गर्नुभएको थियो । उहाँले डाक्टरहरूको जीउधनकै रक्षा गर्न सरकारले काम नगरे देशमा स्वास्थ्य सेवा प्रभावकारी नहुने दावी गर्नुभयो ।
आन्दोलनको असर उपत्यका जति सोलुखुम्बुमा नपरेपनि स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा यस्ता खालका घटनाहरू भइरहनुले सरकारी स्वास्थ्य संस्थाका कर्मचारीको मनोबल अझ कम हुँदै जाने खतरा रहेको उल्लेख गर्नुभएको छ । अहिले वर्षायामको समयमा अस्पतालमा विशेषगरि झाडापखाला, रुघाखोकी, चिसोका कारण हुने दम तथा श्वासप्रश्वास सम्बन्धी समस्याका बिरामीहरू जिल्ला अस्पतालमा आउने गरेका छन् ।
उनिहरुलाई सरकारी मापदण्ड अनुरूप निशुल्क प्राप्त हुने औषधीहरूको साथै स्वास्थ्य परामर्श गरि पठाउने गरिएको मण्डलले बताउनुभयो ।











Discussion about this post