साउन १४, सोलुखुम्बु । प्रतिनिधिसभा सदस्य गीता गुरुङले सोलुखुम्बुका नागरिकले लामो समयदेखि भोग्दै आएका आधारभूत समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले विकास निर्माण, भूकम्पपछिको पुनर्निर्माण तथा विद्युत सेवा सुधारमा देखिएको सरकारी उदासीनताले स्थानीयवासीको दैनिक जीवन प्रभावित भएको बताउनुभयो ।
उहाँले २०७२ सालको विनाशकारी भूकम्पपछि पुनर्निर्माणका लागि उपलब्ध गराइने भनिएको दोस्रो किस्ताको रकम अझै पनि धेरै भूकम्पपीडितले प्राप्त गर्न नसकेको उल्लेख गर्दै त्यससम्बन्धी स्पष्ट कार्ययोजना सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो । वर्षौँ बितिसक्दा पनि पीडितले राज्यबाट पाउनुपर्ने सहायता नपाउनु पुनर्निर्माण प्रक्रियामाथिकै गम्भीर प्रश्न भएको उहाँको जोड थियो ।
सांसद गुरुङले जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा निर्माणाधीन बादे पुल र बर्खुघाट पुलको निर्माण कार्य ठेक्का सम्झौता भएको लामो समय बितिसक्दा पनि सम्पन्न हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । पुल निर्माण सम्पन्न नहुँदा स्थानीयवासी अझै पनि खोटाङ हुँदै लामो तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य भएको उहाँले बताउनुभयो ।
उहाँले सोलुखुम्बुमा पटक–पटक हुने विद्युत अवरोधका कारण सर्वसाधारणको दैनिकी, व्यवसाय तथा सेवा प्रवाहसमेत प्रभावित भएको उल्लेख गर्दै नियमित र भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभयो । सभामुखमार्फत सांसद गुरुङले बाँकी रहेका भूकम्पपीडितलाई दोस्रो किस्ताको अनुदान शीघ्र उपलब्ध गराउन, अलपत्र अवस्थामा रहेका पुल निर्माण कार्य तत्काल सम्पन्न गर्न तथा विद्युत आपूर्ति सुधारका लागि सम्बन्धित मन्त्रालय र निकायलाई आवश्यक निर्देशन दिन सरकारसँग आग्रह गर्नुभयो ।










Discussion about this post