साउन २०, सोलुखुम्बु । सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । जिल्लामा कुल धान खेतीयोग्य क्षेत्रफलको ९८.४५ प्रतिशतमा रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत परमेश्वर चमारका अनुसार साउन १८ गतेसम्म जिल्लामा रहेको कुल एक हजार २२५ हेक्टर धान खेतीयोग्य जमिनमध्ये एक हजार २०६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । अब करिब १९ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
जिल्लाका आठ स्थानीय तहमध्ये छ वटा स्थानीय तहमा धान रोपाइँ शतप्रतिशत सम्पन्न भएको छ । सोलुदुधकुण्ड नगरपालिका, नेचासल्यान गाउँपालिका, सोताङ गाउँपालिका, लिखुपिके गाउँपालिका, महाकुलुङ गाउँपालिका र माप्य दुधकोशी गाउँपालिकामा धान रोपाइँ सम्पन्न भइसकेको केन्द्रले जनाएको छ । थुलुङ दुधकोशी गाउँपालिकामा भने ९६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । सो गाउँपालिकामा केही क्षेत्रमा अझै रोपाइँ गर्न बाँकी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
खुम्बुपासाङल्हामु गाउँपालिकामा भने भौगोलिक तथा हिमाली अवस्थाका कारण धान खेती हुने गरेको छैन । गत वर्ष यही अवधिसम्म जिल्लाभर शतप्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको थियो । यस वर्ष भने वर्षाको अनियमितता, मौसममा देखिएको परिवर्तन तथा स्थानीय भौगोलिक परिस्थितिका कारण रोपाइँ केही ढिलो भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मौसम अनुकूल रहे बाँकी क्षेत्रमा पनि केही दिनभित्रै धान रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ । जिल्लामा धान प्रमुख खाद्यान्न बालीका रूपमा खेती हुँदै आएको छ ।











Discussion about this post