साउन २२, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ वालिङस्थित मध्यपहाडी लोकमार्गको जंगलबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
बिहीबार राति करिब १२ः३० बजे शंकास्पद अवस्थामा रोकिराखिएको प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रकलाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक निराजन बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा १ हजार ३१५ किलो गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार ट्रकको चालक बस्ने भाग र पछाडिको डालाबीच फल्स बटम बनाई त्यसमा गाँजा लुकाएर राखिएको अवस्थामा फेला परेको थियो । प्रहरीले ट्रकसहित गाँजा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय खोटाङमा ल्याएको जनाएको छ । बरामद गाँजा र ट्रकका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रकका चालक तथा धनीको खोजीसमेत गरिरहेको जनाएको छ ।










Discussion about this post