साउन २२, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा पार्किङ गरी राखिएको गाडीबाट नगद चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ का २४ वर्षीय रोहन तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार बिहिबार राति करिब १ बजे सोताङ गाउँपालिका–५, शिवटार बजारस्थित पार्किङमा राखिएको प्रदेश ३–०१–०२४ च ७३०६ नम्बरको बोलेरो गाडीबाट रकम चोरी भएको थियो ।
सर्लाहीको कौडेना गाउँपालिका–३ निवासी ३२ वर्षीय शैलेन्द्र चौधरीको उक्त गाडीभित्र सामान बिक्रीबाट सङ्कलित १ लाख ३७ हजार ५ सय रुपियाँ चोरी भएको प्रहरीले जनाएको छ । घटनालगत्तै खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा उनले गाडीभित्र अनाधिकृत रूपमा प्रवेश गरी उक्त रकम चोरी गरेको खुलेको छ । प्रहरीले सोताङ गाउँपालिका–३ स्थित खरेमा लुकाई राखिएको अवस्थामा चोरी भएको रकममध्ये ५० हजार बरामद गरेको छ ।
पक्राउ परेका तामाङमाथि चोरीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत सोलुखुम्बुबाट साउन २२ गतेदेखि लागू हुने गरी पहिलो पटक पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनुभयो ।











Discussion about this post