साउन २३, सोलुखुम्बु । दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट नेचासल्यान गाउँपालिकाका पाँचवटै वडालाई प्रभावित क्षेत्रको सूचीमा समावेश गराउन माग गर्दै पहल सुरु गरिएको छ । खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको सीमामा पर्ने दुधकोशी नदीमा निर्माण हुन लागेको आयोजनाका विषयमा गाउँपालिकाले काठमाडौंमा रहेका आफ्ना स्थायी बासिन्दासँग अन्तरक्रिया गरेको हो ।
नेचासल्यान गाउँपालिका–२ का वडाध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा भएको अन्तरक्रियाले आयोजनाबाट गाउँपालिकाका पाँचवटै वडा प्रभावित हुने भन्दै आवश्यक समन्वय र पैरवी गर्ने निर्णय गरेको छ । भेलाले वडाध्यक्ष काफ्लेको संयोजकत्वमा २६ सदस्यीय संघर्ष समिति गठन गरेको छ । त्यस्तै, आयोजनासम्बन्धी विषयमा आवश्यक सुझाव र मार्गदर्शनका लागि सल्लाहकार समिति पनि गठन गरिएको छ ।
सल्लाहकार समितिको संयोजकमा प्रतिनिधिसभा सदस्य प्रकाशसिंह कार्की रहनुभएको छ । समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य रीना उप्रेती, अधिवक्ता मातृका निरौला, नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई र उपाध्यक्ष बिना राई रहनुभएको छ । अन्तरक्रियामा आयोजनाको प्रभाव, प्रभावित क्षेत्र निर्धारण, स्थानीयको अधिकार तथा आयोजनामा स्थानीयको सहभागिताका विषयमा छलफल भएको थियो । गाउँपालिकाले आयोजनाबाट प्रभावित हुने वास्तविक क्षेत्रको पहिचान गरी पाँचवटै वडालाई प्रभावित सूचीमा समावेश गराउन सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गर्ने जनाएको छ ।










Discussion about this post