साउन २७, सोलुखुम्बु । रेड पाण्डाको दीर्घकालीन संरक्षण र बासस्थान पुनस्र्थापनाका लागि सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन २०२६’ आयोजना हुने भएको छ । रेड पाण्डा नेटवर्कको आयोजना र ‘प्ले फर नेचर’को प्रमुख आर्थिक सहयोगमा भदौ २० गते प्रतियोगिता हुन लागेको हो ।
तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ४८ किलोमिटर लामो म्याराथन सल्लेरीस्थित थेकछेन पेमा छोलिङ गुम्बा (२,३६० मिटर) बाट सुरु भई पिके पिक (४,०५४ मिटर) पुगेर पुनः गुम्बामा नै आएर टुङ्गिनेछ । यस वर्ष पहिलो पटक ५ किलोमिटरको ‘रेड पाण्डा फन रन’ समेत थप गरिएको छ । नेटवर्कका अनुसार म्याराथनमा खुल्लातर्फका महिला र पुरुष विजेताले क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानका लागि १ लाख ५० हजार, १ लाख, ५० हजार र ३० हजारको साथमा मेडल प्रदान गरिने भएको छ ।
त्यस्तै ‘फरेस्ट गार्डियन’ र ‘फन रन’ विधाका उत्कृष्ट चार धावकहरूलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । म्याराथनको ट्रेलले इन्टरनेसनल ट्रेल रनिङ एसोसिएसनबाट ३ पोइन्ट प्राप्त गरेको छ । यसका लागि धावकहरूले निर्धारण गरिएको ४८ किलोमिटरको दूरी ७ घण्टा ३० मिनेटभित्र पूरा गर्नुपर्नेछ । प्रतियोगितामा चर्चित अभिनेता तथा संस्थाका संरक्षण एम्बासेडर दयाहाङ राईको समेत सहभागिता रहने जनाइएको छ ।
रेड पाण्डा नेटवर्कका कार्यकारी निर्देशक आङ फुरी शेर्पाका अनुसार म्याराथनले स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्नुका साथै संरक्षणबारे जनचेतना अभिवृद्धिमा सहयोग पुर्याउनेछ । यसअघि सन् २०२४ मा ताप्लेजुङको पाथीभरा र २०२५ मा इलाममा म्याराथनको अघिल्ला संस्करण सम्पन्न भइसकेका छन् । इच्छुक धावकहरूले रेड पाण्डा नेटवर्कको आधिकारिक वेबसाइटमार्फत अनलाइन दर्ता गर्न सक्ने आयोजकले जनाएको छ ।











Discussion about this post