साउन २७, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको न्यायिक समितिले नगर क्षेत्रभित्र शान्ति, सामाजिक सद्भाव र अमनचयन कायम राख्न नगरवासीहरूमा अपिल गरेको छ । चालू आर्थिक वर्षमा भएका हत्या तथा आत्महत्या जस्ता दुःखद घटनाहरूले समाजमा त्रास र अविश्वास सिर्जना गरेको भन्दै समितिले यस्तो अपिल जारी गरेको हो । रिस र आवेगमा आएर कठोर निर्णय नलिन तथा प्रतिशोधको बाटो नअपनाई आपसी छलफल र कानुनी प्रक्रियाबाट समाधान खोज्न समितिले सुझाएको छ ।
शान्त, सभ्य र सुरक्षित समाज निर्माणका लागि न्यायिक समितिले आठबुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । जसमा कुनै पनि विवादमा हिंसा नगर्ने, विवाद बढ्नुअघि संवाद र मेलमिलापको पहल गर्ने, घरेलु तथा सामाजिक विवाद नलुकाई सम्बन्धित निकायमा जानकारी गराउने, तथा बालबालिका, महिला, ज्येष्ठ नागरिक र कमजोर वर्गको सुरक्षालाई प्राथमिकता दिने उल्लेख छ ।
साथै, विवाद समाधानका लागि न्यायिक समिति, वडा कार्यालय, प्रहरी तथा कानुनी निकायको सहयोग लिन नगरवासीलाई आग्रह गरिएको छ । शान्त समाज निर्माण गर्नु सरकारको मात्र नभई हरेक व्यक्ति, परिवार र समुदायको साझा जिम्मेवारी भएको स्पष्ट पार्दै समितिले “घृणा होइन सद्भाव बढाऔँ, प्रतिशोध होइन क्षमा र मेलमिलाप अपनाऔँ” भन्ने सन्देश फैलाउन सबैमा अनुरोध गरेको छ ।










Discussion about this post