साउन २९, सोलुखुम्बु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सोलुखुम्बुले विशेष छुटमा चामल बिक्री गर्न सुरु गरेको छ । बिहीबारदेखि नै खाद्य व्यवस्थाले विशेष छुटमा चामल बिक्री गर्न सुरु गरेको हो । कम्पनीको सातौँ वार्षिक उत्सवको अवसरमा प्रतिबोरा एक सय २५ रुपियाँ छुटमा चामल बिक्रीको कार्य सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सोलुखुम्बुका प्रमुख निमेश कुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार यस अघि २ हजार ३ सय रुपियाँमा बिक्री भइरहेको २५ किलोग्रामको स्टिम जिरा मसिनो चामल छुट सहित हाल उपभोक्ताले दुई हजार एक सय पचहत्तर रुपियाँमा पाउने भएका छन् ।
यस्तै यसअघि एक हजार पाँच सय पचास रुपियाँमा बिक्री भइरहेको २५ किलोग्रामको सोना मन्सुली चामल छुटपछि हाल प्रतिबोरा एक हजार चार सय पच्चीस रुपियाँ उपभोक्ताले पाउने कार्यालय प्रमुख यादवको भनाइ छ । कार्यालयका अनुसार उपभोक्ताले प्रति किलोग्राम पाँच रुपियाँ छुटमा चामल खरिद गर्न पाउने भएका छन् । सरकारले विगतका वर्षमा दसैँ–तिहारलाई लक्षित गरी सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल वार्षिक उत्सवको अवसर पारेर यस वर्ष झण्डै एक महिनाअघि नै सञ्चालनमा ल्याएको हो । चाडपर्वका बेला बजारमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने र मूल्यसमेत बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै यस वर्ष विगतको तुलनामा चाँडै सुपथ मूल्य पसल सञ्चालन गरि उपभोक्तालाई छुट प्रदान गरिएको कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो ।
दसैँ–तिहारको मुख्य खरिद अवधि सुरु हुनुअघि नै यस्ता पसल सञ्चालनमा ल्याउँदा उपभोक्ताले लामो समयसम्म सहुलियत दरमा खाद्यान्न तथा अन्य आवश्यक वस्तु खरिद गर्न सक्ने अपेक्षा गरिएको छ । खाद्य व्यवस्थामार्फत अन्य क्षेत्रमा चामल, दाल, गेडागुडी लगायतका अत्यावश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध हुँदै आएपनि सोलुखुम्बुमा हाल सम्म चामल मात्र बिक्री भइरहेको छ ।
विशेषगरी चाडपर्वका लागि ठुलो परिमाणमा खाद्यान्न खरिद गर्ने परिवारका लागि प्रतिकिलो पाँच रुपियाँको छुटले खरिद खर्चमा केही राहत पुग्ने अपेक्षा गरिएको छ । खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले गत आर्थिक वर्ष २०८२/०८३ मा १ करोड ७९ लाख ५० हजार ६ सय २५ रुपैयाँको चामल बिक्री गरेको छ । फरक फरक हेडलाइन लेख










Discussion about this post