साउन ३२, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजारमा लाखे नाच सुरु भएको छ । गठेमङ्गलदेखि सुरु भएको लाखे नाच कृष्ण जन्माष्टमीसम्म घनिभूत रूपमा प्रदर्शन गरिने भएपछि सल्लेरीमा सांस्कृतिक रौनक बढेको छ । ढोलक र झ्याम्टाको तालमा लाखे उफ्रिँदै र घुम्दै नाच्न थालेपछि सल्लेरी बजारमा लाखे हेर्न आउने दर्शकको भीड लाग्ने गरेको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म लाखे हेर्न उत्साहित देखिने गरेका छन् । सडकमा नाचिरहेको लाखे हेर्न घरका छत, बरन्डा र पसल अगाडिसम्म दर्शकको भीड लाग्ने गरेको छ । लाखे नाच हुने क्षेत्रमा दर्शकको भीड व्यवस्थापन तथा सुरक्षाका लागि नेपाल प्रहरीसमेत परिचालन गर्ने गरिएको छ । व
र्षमा एकपटक प्रदर्शन हुने लाखे नाचका कारण कृष्ण जन्माष्टमी नजिकिँदै गर्दा सल्लेरी बजारमा चहलपहलसमेत बढेको छ । सोलुदुधकुण्ड नगरपालिका–६ दोर्पुमा रहेको नेवार समुदायले नेवारी संस्कार र संस्कृति संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले करिब पाँच दशकदेखि लाखे नाच प्रदर्शन गर्दै आएको छ । दोर्पु नेवार समाज सोलुखुम्बुको आयोजनामा हरेक वर्ष लाखे नाचलाई निरन्तरता दिइँदै आएको नेवार समुदायका अभियन्ता दिपक राजभण्डारीले बताउनुभयो। दोर्पु नेवार समाज सोलुखुम्बुका अध्यक्ष बुद्धिनारायण श्रेष्ठका अनुसार गठेमङ्गलदेखि कृष्ण अष्टमीको भोलिपल्टसम्म लाखे नाच प्रदर्शन गरिन्छ ।
कृष्ण जन्माष्टमी नजिकिँदै जाँदा लाखे नाचको गतिविधि थप बढ्ने उनले बताए । श्रेष्ठका अनुसार लाखे जात्राले नेवारी संस्कार र संस्कृति संरक्षणमा योगदान पु¥याउनुका साथै नेवार तथा गैरनेवार समुदायबीच आपसी भाइचारा र भ्रातृत्वको सम्बन्ध बलियो बनाउनसमेत भूमिका खेल्दै आएको छ । लाखे नाचमा राक्षसको स्वरूपको मखुन्डो तथा कालिकाको वस्त्रसहित कलाकारलाई सिँगारेर नचाउने परम्परा छ ।
धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार कृष्णलाई मार्न कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामनासँग जोडेर राक्षसको स्वरूपमा सजिएर लाखे नचाउने परम्परा रहेको जनविश्वास छ । कृष्ण जन्माष्टमीसम्म सल्लेरी बजारमा लाखे नाचको रौनक अझ बढ्ने देखिएको छ । मौलिक नेवारी संस्कृतिको झल्को दिने लाखे नाच स्थानीयका लागि मनोरञ्जनसँगै नयाँ पुस्तालाई परम्परागत संस्कृतिसँग जोड्ने माध्यमसमेत बनेको छ ।










Discussion about this post