साउन ३२, साेलुखुम्बु । सोलुखुम्बुमा ग्यास अभाव थप जटिल बन्ने संकेत देखिएको छ । केही समयअघि चर्किएको खाना पकाउने ग्यासको अभाव अझ पेचिलो बन्दै गएको हो । जिल्लामा ग्यास आपूर्ति गर्ने तराई क्षेत्रका डिलरमै ग्यासको अभाव देखिएपछि सोलुखुम्बुमा आपूर्ति थप प्रभावित हुने देखिएको छ ।
जिल्लाका अधिकांश किराना पसल तथा ग्यास बिक्री गर्ने डिलरमा खाली सिलिन्डर थन्किन थालेको उद्योग वाणिज्य संघ सोलुखुम्बुले जनाएको छ । ग्यास ल्याउन व्यवसायीले प्रयास गरिरहेका भए पनि तराईका डिपोमै पर्याप्त ग्यास उपलब्ध नहुँदा समस्या भइरहेको जनाइएको छ । विराटनगरस्थित एक स्रोतका अनुसार सरकारी निकायबाट हुने धरपकड र जथाभावी छापा मार्ने शैलीका कारण ग्यास व्यवसायीसमेत आजित भएका छन् ।
यसले नियमित आपूर्ति प्रभावित हुन सक्ने व्यवसायीको भनाइ छ । सोलुखुम्बुमा गत साउन २० गतेतिर गरिएको अनुगमनका क्रममा जिल्लाभर करिब १ सय ६६ सिलिन्डर मात्र ग्यास मौज्दात रहेको पाइएको थियो । अहिले उक्त मौज्दातसमेत सकिँदै गएकाले जिल्लामा ग्यास अभाव थप गम्भीर बन्ने अवस्था रहेको उद्योग वाणिज्य संघ सोलुखुम्बुका अध्यक्ष रामलाल श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार जिल्लामा ग्यास आपूर्ति गर्न निरन्तर पहल भइरहे पनि आपूर्ति गर्ने डिपोमै ग्यासको अभाव भएपछि मागअनुसार ग्यास ल्याउन सकिएको छैन । जिल्लामा मौज्दात घट्दै गएको र नयाँ आपूर्ति अनिश्चित बनेपछि आगामी दिनमा उपभोक्ताले थप समस्या झेल्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ ।











Discussion about this post