भदौ २६, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ र ४ को बीचमा पर्ने हुङ्गा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी विस्तारै बग्न थालेपछि जोखिम कम भएको छ । महाकुलुङ गाउँपालिका–२ स्थित गौरीशङ्कर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल शुक्रबार बिहान करिब ७ बजे पहिरो खसेपछि खोलामा करिब १०० मिटर लामो र १५ मिटर अग्लो ड्याम बनेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरीका अनुसार करिब ३५ मिटर अग्लो पहिरो खसेपछि खोलाको पानी थुनिएको थियो । पहिरोले खोला थुनिएपछि तत्कालै इलाका प्रहरी कार्यालय सोताङ र प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो । ड्याम बनेको स्थानबाट हुङ्गा खोलाको पानी महाकुलुङ गाउँपालिका–२ को बोदेल, सोताङ, थुलुङ दूधकोशी र नेचासल्यान गाउँपालिका हुँदै दूधकोशी नदीमा मिसिन्छ ।
दूधकोशी नदी त्यसपछि खोटाङ हुँदै ओखलढुङ्गातर्फ बग्ने गर्दछ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान करिब ९ः१० बजे पहिरोका कारण बनेको ड्याममा पानी भरिएपछि पानी निकास हुन थालेको थियो । अहिले ड्यामबाट पानी विस्तारै खोलामा बगिरहेकाले तत्कालको जोखिम कम भएको प्रहरीले जनाएको छ ।
यद्यपि, पहिरो खस्ने क्रम अझै जारी रहेकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी निर्मल थापाले घटनास्थलको अवस्था निगरानीमा राखिएको र जोखिम कायमै रहेकाले सावधानी अपनाउन आग्रह गरिएको जानकारी दिनुभयो ।











Discussion about this post