सबिना राई, भदौ २७, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित नयाँ बजारमा स्थानीयस्तरमा उत्पादन भएको लोकल चामलको बिक्री घटेपछि किसान तथा व्यापारी मर्कामा परेका छन् । गाउँबाट उत्पादन गरेको चामल बिक्रीका लागि सल्लेरीसम्म ल्याए पनि उपभोक्ताले अपेक्षित मूल्यमा खरिद गर्न नचाहँदा ढुवानी खर्चसमेत उठाउन कठिन भएको व्यापारीले बताएका छन् । साप्ताहिक रूपमा लाग्ने नयाँ बजारमा नेचासल्यान, तिङ्ला, सल्यान तथा ओखलढुङ्गा लगायतका क्षेत्रबाट व्यापारीले स्थानीय जातका चामल बिक्रीका लागि ल्याउने गरेका छन् ।
बिहानैदेखि चामलका बोरा बोकेर बजारमा बसेका व्यापारीमध्ये कतिपयले लामो समयसम्म बिक्री नभएपछि अर्को साता पुनः ल्याएर बिक्री गर्ने योजना बनाएका छन् । नेचासल्यानकी गोमा बास्तोला शुक्रबारदेखि नै सल्लेरी आएर शनिबार बिहानैदेखि लोकल चामल बिक्रीका लागि बस्नुभएको थियो । दाजु–बहिनी मिलेर छ बोरा चामल बिक्रीका लागि ल्याउनुभएकी उहाँले बिहान करिब ९ बजेसम्म पनि चामल बिक्री नभएपछि चिन्ता व्यक्त गर्नुभयो । उहाँले अटेमासी र बिरोमफुल जातको स्थानीय चामल बिक्रीका लागि ल्याउनुभएको हो । अटेमासी एक पाथिको ७०० र बिरोमफुल ८ सयका दरले बिक्री गर्दै आउनुभएकी उहाँले बजारमा बिक्री नभएको चामल अर्को साता पुनः ल्याएर बिक्री गर्ने बताउनुभयो ।
सल्यानका व्यापारी डिकमन राईलाई पनि स्थानीय चामलको बिक्री घटेकोमा अचम्म लागेको छ । उहाँका अनुसार पहिले स्थानीय चामलको बजारमा राम्रो माग थियो । त्यतिबेला एक पाथिको २८ का दरले समेत चामल प्रशस्त बिक्री हुने गरेको उहाँको भनाइ छ । स्थानीय चामल उत्पादन गर्न किसानले गर्ने मेहनत र खर्चको तुलनामा बजारबाट पाउने मूल्य निकै कम रहेको उहाँले बताउनुभयो । धान खेतीका लागि हलिगोरु लगाउँदा करिब १ हजार ५००, बाउसेलाई ५०० र रोपारलाई ४०० रुपैयाँसम्म ज्याला दिनुपर्ने अवस्था रहेको राईले बताउनुभयो । यस्तै ओखलढुङ्गाका गिरबहादुर कट्वालले पनि नयाँ बजारमा लोकल चामल बिक्रीका लागि ल्याउनुभएको थियो ।
उहाँले शनिबार करिब दुई माथि चामल बिक्री गर्नुभएको थियो । तर समग्रमा बजारमा सोचेअनुसार चामल बिक्री नभएको उहाँको भनाइ छ । अर्का व्यापारी सल्यानकी विन्दु राईको अनुभव पनि उस्तै छ । उहाँले मन्सुली चामल पाथिको ७०० रुपैयाँमा बिक्री गर्ने तयारीसहित बजारमा ल्याउनुभएको थियो । तर उपभोक्ताले ४०० देखि ५०० रुपैयाँसम्ममा माग गर्ने गरेको उहाँले बताउनुभयो । स
ल्यानबाट सल्लेरीसम्म चामल ल्याउँदा करिब १ हजार गाडी भाडा लाग्ने उहाँले बताउनुभयो । स्थानीय उत्पादन बिक्रीका लागि टाढाबाट बजारसम्म आउँदा ढुवानी खर्च नै ठूलो भार बन्ने गरेको उहाँको भनाइ छ । व्यापारीका अनुसार स्थानीय जातका धान तथा चामल उत्पादनमा किसानको मेहनत र लागत बढ्दै गए पनि बजारमा त्यसअनुसारको मूल्य र माग नहुँदा स्थानीय उत्पादनको बजारीकरण चुनौतीपूर्ण बन्दै गएको छ ।
उनीहरूले स्थानीय चामलको उत्पादनलाई निरन्तरता दिन बजार व्यवस्थापन, उपयुक्त मूल्य र स्थानीय उत्पादन प्रवद्र्धनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएका छन् । स्थानीय उत्पादनलाई प्राथमिकता दिने वातावरण नबने आगामी दिनमा परम्परागत रूपमा उत्पादन हुँदै आएका अटेमासी, बिरोमफुललगायत स्थानीय धानका जात लोप हुने र किसानसमेत खेतीबाट विस्थापित हुन सक्ने व्यापारीको चिन्ता छ ।










Discussion about this post