भदौ २८, सोलुखुम्बु । हरितालिका तीजको अवसरमा नेपाली महिलाले आज दर खाँदैछन्। भाद्र शुक्ल द्वितीयाका दिन दर खाने परम्परासँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुने गर्दछ। तीजको व्रत बस्नुअघि शक्ति सञ्चय गर्ने उद्देश्यले दर खाने चलन रहेको छ। विशेषगरी माइतीले आफ्ना चेलिबेटीलाई बोलाएर विभिन्न परिकार बनाएर दर खुवाउने परम्परा नेपाली समाजमा रहँदै आएको छ।
दरका रूपमा दूधबाट बनेका शुद्ध तथा पोषिलो परिकारसँगै रोटी, घिउलगायतका खानेकुरा खाने गरिन्छ। व्रतका दिन लामो समयसम्म निराहार बस्नुपर्ने भएकाले दरमा पोषिलो तथा आडिलो खानेकुरा समावेश गर्ने परम्परा रहेको धर्मशास्त्रविद् प्रा। तोयराज नेपाल बताउनुहुन्छ। उहाँका अनुसार गहुँको रोटी र घिउजस्ता परिकार सेवन गर्दा व्रत बस्ने महिलालाई आवश्यक ऊर्जा प्राप्त गर्न सहयोग पुग्ने अनुभव छ।
दर खाने दिनसँगै सुरु हुने तीज पर्वमा भोलिपल्टदेखि महिलाहरूले निराहार तथा निर्जल व्रत बस्ने, शिव–पार्वतीको पूजा गर्ने र विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुने गर्दछन्। पछिल्लो समय तीज मनाउने क्रममा परम्परागत धार्मिक पक्षसँगै सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधि पनि बढ्दै गएको छ। यद्यपि, तीजको मौलिकता, धार्मिक तथा सांस्कृतिक महत्वलाई जोगाउँदै पर्व मनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।










Discussion about this post