भाद्र २८, सोलुखुम्बु । सोलुखुम्बुमा वर्षायामसँगै नदी तथा खोलाको तटीय क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको छ। पछिल्लो पटक महाकुलुङ गाउँपालिका–२ र ४ क्षेत्रमा पहिरो खसेर हुङ्गा खोला थुनिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको थियो। पहिरोले खोलाको बहाव रोकेर करिब १५ मिटर अग्लो ड्याम बनेपछि हुङ्गा खोला र दुधकोशी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको थियो। सोलुखुम्बुमा दुधकोशी, सोलुखोला, हुङ्गालगायत नदी तथा खोलाका किनारमा बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजना रहेकाले वर्षायाममा जोखिम बढ्ने गरेको छ।
विपद् विज्ञ बसन्तराज अधिकारीका अनुसार नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकले बाढी आएपछि मात्र सुरक्षित स्थान खोज्नेभन्दा वर्षायाम सुरु हुनुअघि नै सुरक्षित ठाउँ पहिचान गरी परिवारका सदस्यलाई त्यसबारे जानकारी गराउनुपर्छ। उहाँका अनुसार पहाडी क्षेत्रमा पहिरोले खोला थुनिएर अचानक बाढी आउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दाले माथिल्लो क्षेत्रमा भइरहेका गतिविधिबारे समेत जानकारी राख्न आवश्यक छ । बाढीको पूर्वसूचना प्राप्त भएमा नदी हेर्न जाने, पुल वा खोलाको आसपासमा बस्ने तथा जोखिमपूर्ण स्थानबाट आवतजावत गर्ने काम नगरी तत्काल सुरक्षित स्थानतर्फ जानुपर्ने अधिकारीको सुझाव छ।
उहाँले स्थानीय तहले जोखिमयुक्त बस्तीको पहिचान, सुरक्षित स्थानको व्यवस्थापन, पूर्वसूचना प्रणाली तथा उद्धारको पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ। विशेषगरी पटक–पटक बाढी तथा पहिरोको जोखिममा पर्ने बस्तीको दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको उहाँको भनाइ छ।सोलुखुम्बुमा पछिल्ला घटनाले पनि विपद् आएपछि उद्धार गर्नुभन्दा विपद् आउनुअघि नै जोखिम पहिचान र पूर्वतयारी आवश्यक रहेको देखाएको छ । त्यसैले नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको पूर्वसूचना पालना गर्न आग्रह गरिएको छ ।










Discussion about this post