सबिना राई, सोलुखुम्बु, भदौ २९ गते । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्लो समय अनलाइन खरिदबिक्रीको विस्तारसँगै कुरियर सेवामार्फत सामान मगाउने उपभोक्ताको सङ्ख्या बढ्दै गएको छ । विशेषगरी कपडा, कागजात, पार्सल, उपहारका सामग्री अनलाइनमार्फत खरिद गरी कुरियर सेवाबाट मगाउने प्रवृत्ति बढेको व्यवसायीले बताएका छन् । पसल–पसलमा पुगेर सामान खरिद गर्नुभन्दा घरमै बसेर अनलाइन अर्डर गरी सामान प्राप्त गर्न सकिने भएपछि कुरियर सेवाको माग बढेको हो । सोलुखुम्बुको सदरमुकाम सल्लेरीसँगै नाम्चे र लुक्लासम्म काठमाडौँलगायत विभिन्न स्थानबाट कुरियरमार्फत सामान आउने गरेको छ ।
पछिल्लो समय अनलाइन बुटिक, इन्स्टाग्राम स्टोर तथा फेसबुक पेजमार्फत कपडा तथा अन्य सामग्री खरिद गर्नेको सङ्ख्या बढेसँगै कुरियर व्यवसायसमेत फस्टाउँदै गएको व्यवसायीको भनाइ छ । उपाय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डेलिभरी सेवा, सल्लेरी शाखाका प्रमुख पेमा छिरिङ तामाङका अनुसार करिब आठ महिनाअघि सेवा सुरु गर्दा ग्राहकलाई कुरियर सेवाबारे बुझाउन केही कठिनाइ भए पनि पछिल्लो समय सेवाको प्रयोग बढ्दै गएको छ । सल्लेरीमा विगत केही समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुरियर सेवा प्रदान गर्दै आउनुभएका फू दोर्जे शेर्पाका अनुसार दैनिक करिब ३० देखि ३५ जना ग्राहकले अनलाइनबाट मगाएका सामान कुरियरमार्फत प्राप्त गर्ने गरेका छन् ।
अनलाइन व्यापार बढेसँगै कुरियर सेवामा निर्भर हुने ग्राहकको सङ्ख्या पनि बढेको उहाँले बताउनुभयो । त्यस्तै, प्रेम राईले पनि करिब डेढ वर्षदेखि सल्लेरीमा कुरियर सेवा सञ्चालन गर्दै आउनुभएको छ । उहाँका अनुसार अनलाइनमार्फत सामान खरिद गर्ने ग्राहक बढेसँगै कुरियर सेवाको कारोबारसमेत बढेको छ । तर, अनलाइन खरिदमा ग्राहकले अपेक्षा गरेअनुसारको सामान नपाउने समस्या भने अझै रहेको व्यवसायीको भनाइ छ ।
अर्डर गरिएको स्थानबाटै ग्राहकले सोचेजस्तो गुणस्तर, आकार, रङ वा डिजाइनको सामान नपठाइदिँदा कहिलेकाहीँ गुनासो आउने गरेको उनीहरूले बताएका छन् । व्यवसायीका अनुसार सोलुखुम्बुजस्तो भौगोलिक रूपमा विकट जिल्लामा अनलाइन खरिदसँगै भरपर्दो कुरियर सेवाको विस्तारले उपभोक्तालाई सहजता थपेको छ । बजारमा सहज रूपमा उपलब्ध नहुने कपडा तथा अन्य सामग्रीसमेत घरमै बसेर खरिद गर्न सकिने भएपछि विशेषगरी युवा पुस्तामा अनलाइन सपिङप्रतिको आकर्षण बढ्दै गएको छ ।











Discussion about this post