भदौ २८, सोलुखुम्बु । यस वर्षको हरितालिका तीज पर्व आजदेखि सुरु भएको छ । तीजको पहिलो दिनका रूपमा आज माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ । तीजको व्रतको पूर्वतयारीका रूपमा दर खाने प्रचलन रहेको छ । भोलि हरितालिका तीजका दिन व्रत बस्ने भएकाले आज सात्विक तथा पौष्टिक पदार्थ सेवन गर्नुपर्ने धार्मिक तथा सामाजिक मान्यता रहेको छ । विशेषगरी दूधबाट बनेका खिर, ढकनी, गुँदपाक तथा विभिन्न मिठाईका परिकार दरका रूपमा खाने चलन छ ।
दर खाएपछि भोलिपल्ट बस्ने व्रतका लागि शरीरलाई आवश्यक ऊर्जा प्राप्त हुने जनविश्वाससमेत रहेको छ । यद्यपि दर खाने क्रममा खानपानमा विशेष ध्यान दिनुपर्ने चिकित्सकले सुझाव दिएका छन् । सोलु सामुदायिक अस्पतालका प्रमुख डा. राजेन्द्र बस्नेतले दरका नाममा धेरै चिल्लो, पिरो, गुलियो तथा मसलेदार परिकार सेवन गर्दा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने बताउनुभएको छ । उहाँले दरका रूपमा सन्तुलित, पौष्टिक र सजिलै पच्ने परिकारलाई प्राथमिकता दिन सुझाव दिनुभएको छ ।
दर खाने समयसमेत ठाउँ र समुदायअनुसार फरक–फरक रहेको पाइन्छ । कतिपय ठाउँमा बेलुका अन्य खाना नखाई दर खाने चलन छ भने कतिपय स्थानमा नियमित खाना खाइसकेपछि मध्यरातमा दर खाने परम्परा रहेको छ । तीज पर्वअन्तर्गत आज दर खाएपछि भोलि हरितालिका तीज र त्यसको भोलिपल्ट ऋषिपञ्चमी मनाइनेछ । तीजका अवसरमा विशेषगरी महिलाले निराहार वा जलाहार व्रत बस्ने भएकाले व्रतअघि र व्रतका क्रममा स्वास्थ्यमा असर नपर्ने गरी खानपान गर्न चिकित्सकले आग्रह गरेका छन् ।










Discussion about this post