भाद्र २९, सोलुखुम्बु । हरितालिका तीज पर्वका अवसरमा हिमाली जिल्ला सोलुखुम्बुका विभिन्न धार्मिक तथा शिवालयमा महिला भक्तजनको भीड लागेको छ ।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजका अवसरमा महिलाहरूले बिहानैदेखि निराहार तथा निर्जला व्रत बसेर भगवान् शिवको पूजा आराधना गरेका छन् । सल्लेरीस्थित कृष्ण मन्दिर, सानो दूधकुण्डलगायत जिल्लाका विभिन्न धार्मिकस्थलमा पूजा आराधना र दर्शनका लागि महिलाहरू पुगेका छन् ।
व्रत बस्नुअघि सोमबार राति तथा मंगलबार बिहान दर खाने परम्परा रहे अनुसार सोलुखुम्बुमा महिलाले गएराती १२ बजेसम्म दर खाएर व्रत सुरु गरेका छन् । रातो पहिरनमा सजिएका महिलाहरू समूहमा मन्दिर पुगेपछि धार्मिकस्थलहरूमा तीजको उल्लास देखिएको छ ।
हिन्दु धार्मिक मान्यताअनुसार पार्वतीले भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्न व्रत बसेको विश्वासमा तीज पर्व मनाउने गरिएको पाइन्छ । विवाहित महिलाले पतिको दीर्घायु, सुख, समृद्धि तथा पारिवारिक सुखको कामना गर्दै र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै तीजको व्रत बस्ने धार्मिक परम्परा छ ।
तीजका अवसरमा महिलाहरूले शिव मन्दिर तथा शिवालयमा पूजा आराधना गर्नुका साथै नाचगान र भजनकीर्तन गरेर पर्व मनाउने गरेका छन् ।
यस वर्ष पनि सोलुखुम्बुका धार्मिकस्थलहरूमा बिहानैदेखि महिलाहरूको बाक्लो उपस्थिति देखिएको छ । आस्था, परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको तीज पर्वले जिल्लामा धार्मिक तथा सामाजिक चहलपहल बढाएको छ ।











Discussion about this post