भदौ २९, सोलुखुम्बु । रसुवाको भोटेकोशी नदीमा गएको पहिरोका कारण ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै सोलुदुधकुण्ड नगरपालिका–८ घुन्सास्थित बालेश्वर माध्यमिक विद्यालयले शोकसभा आयोजना गरेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार आयोजित शोकसभामा विद्यालय परिवारले घटनामा ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको विद्यालयले जनाएको छ । विद्यालयले विपद्का कारण घाइते तथा प्रभावित भएका सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गरेको छ । कार्यक्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको जनाइएको छ ।
यसैबीच, विद्यालयको नव बिहानी अगुवा बाल क्लबको नेतृत्वमा शिक्षक, विद्यार्थी तथा अभिभावकबाट सङ्कलन गरिएको १२ हजार ९० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ । विपद्पीडितको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको विद्यालयले जनाएको छ । विद्यालयले सहयोग रकम सङ्कलन तथा राहत अभियानमा सहभागी हुने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकलाई धन्यवादसमेत व्यक्त गरेको छ ।










Discussion about this post