भाद्र २९, साेलुखुम्बु । सोलुखुम्बुमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट राजेन्द्र बस्नेत जिल्ला अध्यक्षमा चयन हुनुभएको छ । राप्रपाका अनुसार पार्टीको केन्द्रीय महाधिवेशनको तयारीस्वरूप हालसम्म देशभरका ५६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बाँकी जिल्लाको अधिवेशन पनि आगामी भदौ मसान्तभित्र सम्पन्न गर्ने तयारी भइरहेको छ । जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै पार्टीले केन्द्रीय महाधिवेशनको तयारीलाई तीव्रता दिएको उहाँले बताउनुभयो । राप्रपाले आगामी मङ्सिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । सोही समयमै महाधिवेशन सम्पन्न गर्ने गरी निर्धारित कार्यतालिकाअनुसार जिल्ला अधिवेशनहरू भइरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ । यसक्रममा कोशी प्रदेशका ताप्लेजुङमा अमृतकुमार सावदेन, इलाममा ताराप्रसाद नेपाल, झापामा केशवप्रसाद ओझा, मोरङमा मनोज बस्नेत र तेह्रथुममा टंकप्रसाद अधिकारी जिल्ला अध्यक्षमा चयन हुनुभएको राप्रपाले जनाएको छ । यस्तै ओखलढुंगामा पदमकुमारी गुरुङ, खोटाङमा ललित राई, संखुवासभामा दीपेन्द्र भण्डारी र उदयपुरमा ध्रुव रायमाझी जिल्ला अध्यक्षमा चयन हुनुभएको छ ।राप्रपाले जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लामा नयाँ नेतृत्वलाई महाधिवेशन केन्द्रित जिम्मेवारीमा परिचालन गर्ने जनाएको छ ।











Discussion about this post