असोज १, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले चाडपर्वलाई लक्षित गर्दै सोलुखुम्बुमा बजार अनुगमन सुरु गरेको छ । खाद्य वस्तुको स्वच्छता तथा उपभोक्ताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले प्रशासनले बजार अनुगमन थालेको हो ।
असोज १ गते सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समितिका संयोजक देवेन्द्र सुवेदीको नेतृत्वमा जिल्ला सदरमुकाम सल्लेरीको तल्लो क्षेत्र जोरबौद्ध र दोर्पु बजारमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अनुगमनका क्रममा विभिन्न पसल तथा व्यवसायहरुबाट ३४ हजार ६ सय ९५ रुपैयाँ बराबरको अखाद्य तथा म्याद गुज्रिएको बस्तस बरामद गरिएको छ ।
अनुगमनका क्रममा बजारमा खाद्य वस्तुको गुणस्तर, मूल्यसूची, म्याद गुज्रिएका तथा अखाद्य वस्तुको बिक्री वितरणलगायत उपभोक्ताको हितसँग सम्बन्धित विषयमा निगरानी गरिएको कार्यालयले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार प्रशासनले असोजको पहिलो दिनदेखि नै चाडपर्व लक्षित बजार अनुगमनलाई अघि बढाएको हो । चाडपर्वका समयमा बजारमा कालोबजारी, कृत्रिम अभाव तथा अस्वाभाविक मूल्यवृद्धि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नियमित तथा पटकपटक बजार अनुगमन गरिने उहाँले बताउनुभयो ।
प्रमुख चाडपर्व नजिकिँदै जाँदा दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले व्यवसायीबाट हुन सक्ने कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्न अनुगमनलाई तीव्रता दिइएको प्रशासनको भनाइ छ ।
प्रशासनका अनुसार बजार अनुगमनसँगै व्यवसायीलाई उपभोक्ता अधिकारको सम्मान गर्न, वस्तुको वास्तविक मूल्य कायम गर्न तथा गुणस्तरीय र म्यादभित्रका खाद्य वस्तु मात्र बिक्री वितरण गर्न सचेत गराइनेछ ।
चाडपर्वको समयमा उपभोक्तालाई सहज र सुरक्षित रूपमा आवश्यक वस्तु उपलब्ध गराउने तथा बजारमा हुने सम्भावित अनियमितता नियन्त्रण गर्ने उद्देश्यले अनुगमनलाई जिल्लाका अन्य बजार क्षेत्रमा समेत निरन्तरता दिइने प्रशासनले जनाएको छ ।










Discussion about this post