अशोक राई/दिक्तेल, खोटाङ – जिल्ला ब्याडमिन्टन संघ खोटाङले दिक्तेलमा एक विशेष कार्यक्रमको आयोजना गरी स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममार्फत जिल्ला प्रहरी कार्यालय खोटाङबाट सरुवा भई जान लाग्नुभएका ब्याडमिन्टन खेलाडी हवलदार टेकबहादुर राईलाई भव्य विदाई गरिएको हो । खेल क्षेत्रमार्फत जिल्लामा पुर्याएको योगदानको प्रशंसा गर्दै संघले उहाँलाई मायाको चिनो तथा शुभकामनासहित विदाई गरेको हो ।
यसैगरी, संघले जिल्लामा नयाँ आउनुभएका प्रमुख जिल्ला अधिकारी एवं ब्याडमिन्टन खेलाडी महेश कुमार गुरुङ, हलेसी गुल्मका डिएसपी तथा जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष मिलन कसजुलाई औपचारिक रूपमा स्वागत गरेको छ । कार्यक्रममा आमन्त्रित रहनुभएका सशस्त्र प्रहरी बलका डिएसपी भने स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको आयोजकले जनाएको छ ।
स्वागत तथा विदाई कार्यक्रमसँगै संघले आगामी संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८३ को अवसरमा आयोजना हुन लागेको मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको तयारीबारे समेत जानकारी गराएको छ । ‘स्वास्थ्य र सभ्य समाज निर्माणको लागि खेलकुदको विकास गरौं’ भन्ने मूल नाराका साथ आयोजना हुने उक्त प्रतियोगिता असोज २ र ३ गते दिक्तेलस्थित माटिकोरे बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन हुनेछ । प्रतियोगितामा समूह ‘A’ र ‘B’ छुट्याएर खेल खेलाइनेछ भने सहभागी खेलाडीहरूका लागि दर्ता शुल्क निःशुल्क गरिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजार, दोस्रो हुनेले ९ हजार तथा सेमिफाइनल पुग्ने दुई टिमले जनही ४ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । कार्यक्रमलाई जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सहकार्य गरेका छन् भने केपिलासगढी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।












Discussion about this post