असोज २, सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले पार्टीको १५औँ महाधिवेशनअन्तर्गतका सबै तहका अधिवेशनलाई सहमति र एकताको अधिवेशनका रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ। जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाको सभापतित्वमा जिल्ला सदरमुकाम सल्लेरीमा बिहीबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले वडा तहदेखि गाउँपालिका तथा नगरपालिका, प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनसम्म सहमतिको वातावरण निर्माण गर्ने निर्णय गरेको हो।
बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य आङगेलु शेर्पा, केन्द्रीय सदस्यद्वय छिण्डील्हमु शेर्पा र धर्म नेपाली, प्रतिनिधिसभा सदस्यद्वय प्रकाशसिंह कार्की र रिना उप्रेती केसी तथा पूर्व जिल्ला सभापति विनोद बस्नेतलगायतले धारणा राख्नुभएको थियो। उहाँहरूले लामो समयदेखि जिल्लामा देखिँदै आएको गुट–उपगुटको राजनीतिलाई अन्त्य गर्दै पार्टीलाई सहमति र एकताको आधारमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो। पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थापन गर्दै संगठनलाई थप सुदृढ बनाउन सहमतिको अभ्यास आवश्यक रहेको उहाँहरूको भनाइ थियो।
बैठकले महाधिवेशनअन्तर्गत जिल्लाका ५२ वटै वडाका लागि प्रतिनिधिसमेत चयन गरेको छ। चयन भएका प्रतिनिधिलाई शुक्रबार प्रमाणपत्र प्रदान गरिने नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ। सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकाअनुसार वडा अधिवेशन भदौ २४ गते, गाउँ–नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन भदौ ३१ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज ३ गते सम्पन्न गर्ने कार्यतालिका छ। त्यसपछि जिल्ला अधिवेशन असोज ७ गते, प्रदेश अधिवेशन असोज १० गते तथा केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने तय गरिएको छ। सोलुखुम्बुमा यसपटक कांग्रेसको क्रियाशील सदस्यता वितरणसमेत विगतको तुलनामा विवादरहित ढङ्गले सम्पन्न भएको पार्टीले जनाएको छ।
विगतमा क्रियाशील सदस्यता वितरणसम्बन्धी विवादका कारण अधिवेशन तथा अन्य संगठनात्मक गतिविधि प्रभावित हुने गरेका थिए। १४औँ जिल्ला अधिवेशनबाट सभापतिको जिम्मेवारी सम्हालेपछि शेर्पाले पार्टीभित्रको गुटगत प्रतिस्पर्धालाई व्यवस्थापन गर्दै सहमतिको अभ्यासलाई प्राथमिकता दिएको कांग्रेसका नेताहरू बताउँछन्। निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा गुटगत रूपमा छुट्टाछुट्टै नाम पठाउने परम्पराको सट्टा सकेसम्म सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने अभ्यासलाई प्राथमिकता दिइएको उनीहरूको भनाइ छ।
यसैको परिणामस्वरूप पछिल्लो समय जिल्लामा कांग्रेसले संगठनात्मक तथा निर्वाचनका क्षेत्रमा उपलब्धि हासिल गरेको नेताहरूको दाबी छ। स्थानीय तह निर्वाचनमा जिल्लाका आठ पालिकामध्ये पाँच पालिकामा कांग्रेसले नेतृत्व प्राप्त गरेको तथा पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा सोलुखुम्बुबाट कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित भएको उदाहरण उनीहरूले दिएका छन्। पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै कांग्रेस सोलुखुम्बुले पछिल्ला दिनमा संगठनात्मक गतिविधिसमेत तीव्र बनाएको छ। महाधिवेशनको तयारीसँगै निर्वाचन व्यवस्थापन तथा संगठन परिचालनका लागि विभिन्न समिति गठन गरेर काम अघि बढाइएको छ।











Discussion about this post