असोज ३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१ मा गएराति परेको भारी वर्षापछि गएको पहिरोले सडक तथा खोलामा निर्माण गरिएका कल्भर्ट बगाउँदा वडाका विभिन्न गाउँको सडक सञ्जाल अवरुद्ध भएको छ ।
गएराति करिब ८ बजेतिर परेको भीषण वर्षापछि वडाका विभिन्न स्थानमा तीनवटा ठूला पहिरो गएको जनाइएको छ । पहिरोका कारण विभिन्न गाउँ जोड्ने सडक अवरुद्ध हुनुका साथै खोलामा निर्माण गरिएका कल्भर्टसमेत बगेका छन् ।
वडाको सदरमुकाम हुँदै हेवा जोड्ने सडकखण्डअन्तर्गत खुन्द्रुक खोलामा निर्माण गरिएको कल्भर्ट बाढीले बगाएको बताइएको छ । कल्भर्ट बगेपछि दुई गाउँबीचको आवतजावत प्रभावित भएको र स्थानीयको जनजीवन नै ठप्प बनेको बाबुछिरी बालकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक खेमराज कट्टेलले बताउनुभयो ।
उहाँका अनुसार वर्षाका कारण ढिछ्यार, मझुवाखोला र वाकु खोला क्षेत्रमा ठूला पहिरो खसेका छन् । पहिरोले सडक पूर्णरूपमा अवरुद्ध बनाएपछि स्थानीयको सदरमुकाम सल्लेरीसँगको सडक सम्पर्कसमेत टुटेको छ ।
लगातारको वर्षाका कारण थप पहिरो तथा बाढीको जोखिम रहन सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ ।










Discussion about this post