असोज ३, सोलुखुम्बु । आज असोज ३ गते, संविधान दिवस । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दिनको स्मरणमा देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ। कतिपय जिल्लामा प्रभातफेरी, अन्तरक्रिया, सरसफाइ, दीप प्रज्वलनलगायतका कार्यक्रम भइरहेका छन् । तर हिमाली जिल्ला सोलुखुम्बुमा भने संविधान दिवसको अवसरमा जिल्लास्तरमा कुनै विशेष औपचारिक कार्यक्रम भएको देखिएन ।
छिमेकी जिल्ला खोटाङमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा प्रभातफेरीसहितका कार्यक्रम आयोजना गरिँदा सोलुखुम्बुमा भने सरकारी तथा गैरसरकारी कार्यालय, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाहरूबाट दिवस केन्द्रित कार्यक्रम भएको सार्वजनिक जानकारी आएको छैन । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले भने संविधान दिवसको अवसरमा साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम राखेको जानकारी प्राप्त भएको छ ।
तर दिवसको मूल मर्म र संविधानप्रति नागरिकको अपनत्व बढाउने उद्देश्यका दृष्टिले अन्य सिर्जनात्मक तथा जनसहभागितामूलक कार्यक्रम पनि हुनुपर्ने आवाज उठेका छन् । विशेषगरी संविधानले संघीयता, मौलिक हक, स्थानीय तहको अधिकार, समावेशिता र नागरिकको सहभागितालाई संस्थागत गरेको अवस्थामा जिल्लाका स्थानीय तह, सरकारी कार्यालय तथा नागरिक समाजले दिवसलाई जनस्तरसम्म पु¥याउन कस्तो भूमिका खेलिरहेका छन् भन्ने विषय चासोको विषय बनेको छ ।









Discussion about this post