असोज ३, सोलुखुम्बु । नेपाली कांग्रेसको वडा अधिवेशन आजदेखि देशभर सुरु भएको छ। पार्टीको निर्धारित कार्यतालिकाअनुसार हिमाली जिल्ला सोलुखुम्बुमा पनि ८ वटै स्थानीय तहका ५२ वडामा वडा अधिवेशनको प्रक्रिया सुरु भएको छ।
कांग्रेस नेता गणेश बस्नेतका अनुसार जिल्लाका सबै पालिकाका वडामा अधिवेशनको प्रक्रिया अघि बढिसकेको छ । केही वडामा सहमतिका आधारमा नेतृत्व चयन भइरहेको छ भने अन्य वडामा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने तयारी भइरहेको छ।
हालसम्म सोलुदुधकुण्ड नगरपालिका–२ र वडा नम्बर ६ लगायतका केही वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन भइसकेको बताइएको छ । बाँकी वडामा पनि सहमतिको प्रयाससँगै आवश्यकताअनुसार निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिने कांग्रेसले जनाएको छ ।
वडा अधिवेशनमार्फत वडा सभापति, पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधि चयन हुने भएकाले आगामी दिनमा हुने पालिका, प्रदेश तथा जिल्ला अधिवेशनका लागि पनि वडा अधिवेशनलाई महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।
यसैबीच, नेपाली कांग्रेसभित्र देखिएको समानान्तर गतिविधिको प्रभाव सोलुखुम्बुको वडा अधिवेशनमा समेत देखिएको छ। कांग्रेसको देउवा पक्षमा रहेका केही नेताहरूले अधिवेशनमा सहभागी नहुने तयारी गरेको बताइएको छ।
पार्टीभित्रको आन्तरिक विवाद र फरक समूहका गतिविधिका कारण सबै पक्षको सहभागिता सुनिश्चित हुने वा नहुने विषय पनि सोलुखुम्बुको अधिवेशनमा चासोको विषय बनेको छ।
यद्यपि कांग्रेसका स्थानीय नेताहरूले भने वडा तहको अधिवेशनलाई सकेसम्म सहमति र सहकार्यका आधारमा सम्पन्न गर्ने प्रयास भइरहेको बताएका छन्।
सोलुखुम्बुमा ८ स्थानीय तहअन्तर्गत ५२ वटा वडा रहेकाले सबै वडाको नेतृत्व चयनपछि मात्रै जिल्लाको समग्र अधिवेशन प्रक्रिया कुन दिशामा अघि बढ्छ भन्ने स्पष्ट हुनेछ।










Discussion about this post