असोज ३, सोलुखुम्बु । सोलुखुम्बुको स्थानीय बजारमा यस वर्ष आलुको मूल्य गत वर्षको तुलनामा बढे पनि उत्पादनस्थलबाट बजारसम्म ल्याउँदा लाग्ने ढुवानी खर्च र बिक्रीको अनिश्चितताले किसान तथा व्यापारी चिन्तित बनेका छन् । स्थानीय बजारमा आलु बिक्रीका लागि ल्याउनुभएका व्यापारी छिरिङ तामाङका अनुसार यस वर्ष आलुको मूल्य पाथीको २०० सम्म पुगेको छ । गत वर्ष भने आलु प्रतिपाथी १४० देखि १५० सम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो ।
तामाङले बिक्रीको अवस्था भने एकनास नरहेको बताउनुभयो । कहिले राम्रो बिक्री हुने र कहिले बिक्री नहुँदा दैनिक खर्च जुटाउनसमेत कठिन हुने उहाँको भनाइ छ । उहाँका अनुसार पछिल्ला केही सातामा क्रमशः करिब पाँच मुरी, दुई मुरी, चार मुरी र तीन मुरीसम्म आलु बिक्री भएको थियो । पछिल्लो पटक भने १६ पाथी आलु बिक्री भएको उहाँले बताउनुभयो । आलु बजारसम्म ल्याउँदा ढुवानी खर्चसमेत किसान तथा व्यापारीका लागि थप भार बन्ने गरेको छ ।
उहाँका अनुसार करिब ५० किलोको एक बोरा आलु बजारसम्म ल्याउँदा १०० सम्म ढुवानी खर्च लाग्ने गरेको छ । सामानको परिमाण बढ्दै जाँदा मानिसको भाडा र सामानको भाडा छुट्टाछुट्टै तिर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । यस्तै सोलुदूधकुण्ड नगरपालिका–७ गार्माबाट आलु तथा तरकारी बिक्रीका लागि बजार आउनुभएकी ङिम ल्हामु तामाङले पनि यस वर्ष आलुको मूल्य गत वर्षको तुलनामा राम्रो रहेको बताउनुभयो ।
उहाँका अनुसार गत वर्ष प्रतिपाथी १४० देखि १५० सम्ममा बिक्री भएको आलु यस वर्ष केही समय २५० सम्ममा बिक्री भएको थियो । अहिले भने प्रतिपाथी करिब २०० मा बिक्री भइरहेको छ । उहाँले आलुको मूल्य आकारअनुसार फरक पर्ने बताउनुभयो । ठूलो आलुको मूल्य बढी र सानो आलुको मूल्य कम हुने गरेको उहाँको भनाइ छ ।
उहाँले आफ्नै बारीमा उत्पादन गरेको आलु तथा अन्य तरकारी बजारमा ल्याएर बिक्री गर्दै आउनुभएको छ । गार्माबाट करिब एक मुरी आलु ल्याउनुभएकी तामाङले बजारमा सबै आलु एकै दिन बिक्री हुने निश्चित नभए पनि दिउँसो १ बजेसम्म बसेर बिक्री गर्ने गरेको बताउनुभयो । उत्पादनलाई बजारसम्म ल्याउनुअघि केही दूरीसम्म आफैँ बोकेर त्यसपछि गाडीमार्फत ल्याउनुपर्ने भएकाले श्रम र ढुवानी दुवैमा खर्च हुने उहाँले बताउनुभयो ।
किसान तथा व्यापारीका अनुसार स्थानीय बजारमा आलुको मूल्यमा सुधार देखिए पनि बिक्रीको अवस्था नियमित नहुँदा आम्दानीमा उतारचढाव हुने गरेको छ । उत्पादनदेखि बजारसम्मको ढुवानी खर्च, श्रम तथा बजार मागका आधारमा मूल्यमा हुने परिवर्तनले किसानको वास्तविक आम्दानी प्रभावित हुने गरेको उनीहरूको भनाइ छ ।










Discussion about this post