असोज ३, सोलुखुम्बु । नेपाली कांग्रेसको आन्तरिक विवाद अधिवेशनको मिति र प्रक्रियासम्म पुगेपछि पार्टीभित्रको एकता फेरि प्रश्नमा परेको छ। पार्टीका दुई पक्षले छुट्टाछुट्टै मितिमा अधिवेशन आयोजना गर्न लागिरहेका बेला कांग्रेस नेता बलबहादुर केसीले भने दुवै अधिवेशनमा सहभागी नहुने घोषणा गर्नुभएको छ ।
पार्टीको नियमित आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनुपर्नेमा एउटै पार्टीका दुई पक्षले फरक–फरक मितिमा अधिवेशन अघि बढाउनु नै अहिलेको मुख्य विरोधाभास देखिएको छ। कांग्रेसलाई लोकतान्त्रिक अभ्यास र एकताको पार्टीका रूपमा अघि बढाउनुपर्ने अवस्थामा समानान्तर अधिवेशनले उल्टै पार्टीभित्र विभाजनको अवस्था सिर्जना गर्ने नेता केसीको धारणा छ । यही अवस्थालाई लिएर केसीले दुवै पक्षले हाल तय गरेका अधिवेशनका कार्यक्रम तत्काल स्थगित गरी सबै पक्षको सहमतिमा नयाँ मिति तय गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ ।
व्यक्तिगत तथा समूहगत स्वार्थभन्दा माथि उठेर पार्टी एकतालाई प्राथमिकता दिनुपर्ने भन्दै उहाँले गुटगत हठ त्यागेर मध्यमार्गी र व्यावहारिक बाटो अपनाउन कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । केसीले पार्टी विभाजनको संकेत देखिएपछि यसअघि नै आफू संघीय निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेको र कांग्रेसका उम्मेदवारलाई जिताउन सक्रिय भएको स्मरणसमेत गराउनुभएको छ । अहिले पनि कांग्रेसको एकता अधिवेशन नभएको निष्कर्ष निकाल्दै उहाँले दुवै पक्षका अधिवेशनमा सहभागी नहुने र तटस्थ रहने निर्णय गर्नुभएको हो ।
यद्यपि, अधिवेशन प्रक्रियाबाट आफू अलग रहे पनि पार्टी एकताको प्रयासबाट भने पछि नहट्ने केसीको भनाइ छ। उहाँले कांग्रेसलाई एकढिक्का बनाउन निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यससँगै कांग्रेसभित्रको विवाद केवल नेतृत्व चयनको प्रक्रियामा सीमित छ कि पार्टीको भावी संरचना र शक्ति सन्तुलनसँग जोडिएको ठूलो राजनीतिक मतभेद हो भन्ने प्रश्नसमेत उठेको छ।









Discussion about this post