असोज ९, सोलुखुम्बु । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोलुखुम्बुका आठवटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएको छ। बिहीबार नेचासल्यान गाउँपालिकामा भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै जिल्लामा पालिका अधिवेशन सम्पन्न भएको हो। नेचासल्यान गाउँपालिकाको सभापतिमा शम्भु कार्की निर्वाचित हुनुभएको छ। सभापतिका लागि भएको निर्वाचनमा कार्कीले ८७ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी हेमराज कटेलले ४३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ। जिल्लाका आठ पालिकामध्ये सभापति चयनका लागि निर्वाचन भएको पालिका नेचासल्यान मात्रै हो।
नेचासल्यान गाउँपालिका अधिवेशनको बुधबार नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाशसिंह कार्कीले उद्घाटन गर्नुभएको थियो। बुधबार नै अधिवेशन सुरु भएका जिल्लाका अन्य सात पालिकामा भने सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको थियो। जसअनुसार सोलुदूधकुण्ड नगरपालिकाको नगर कार्यसमिति सभापतिमा छोङ्बा लामा शेर्पा, खुम्बु पासाङल्हामु गाउँपालिकाको सभापतिमा फुनुरु शेर्पा र लिखुपिके गाउँपालिकाको सभापतिमा रेखराज बस्नेत चयन हुनुभएको छ।
त्यस्तै, थुलुङ दूधकोशी गाउँपालिकाको सभापतिमा भक्त गुरुङ, सोताङ गाउँपालिकाको सभापतिमा जङ गुरुङ, माप्य दूधकोशी गाउँपालिकाको सभापतिमा रामप्रसाद मगर र महाकुलुङ गाउँपालिकाको सभापतिमा बलकुमार राई निर्विरोध निर्वाचित हुनुभएको छ। यसैबीच, नेपाली कांग्रेस सोलुखुम्बुको पूर्वनिर्धारित क्षेत्रीय अधिवेशन कार्यक्रम प्रतिकूल मौसमका कारण स्थगित गरिएको छ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाका अनुसार प्रतिकूल मौसमलाई मध्यनजर गर्दै जिल्ला कार्यसम्पादन समितिको बैठकले पूर्वनिर्धारित निर्वाचन कार्यक्रम स्थगित गरी नयाँ मिति तय गरेको हो। नयाँ कार्यतालिकाअनुसार असोज १२ गते दिउँसो १ बजेदेखि उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया सुरु हुनेछ भने असोज १३ गते क्षेत्रीय अधिवेशनको निर्वाचन सम्पन्न गर्ने निर्णय गरिएको सभापति शेर्पाले जानकारी दिनुभयो।









Discussion about this post