सोलुखुम्बु, असोज ८ । सोलुखुम्बुको सोताङ गाउँपालिकाले लगातारको वर्षा र त्यसबाट हुनसक्ने विपद्को जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाएको छ । गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले सम्भावित जोखिम न्यूनीकरणका लागि विभिन्न निर्णय गरेको हो ।
गाउँपालिकाले असोज ८ गते शुक्रबार पालिकाभित्रका सम्पूर्ण विद्यालय एक दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। सम्भावित विपद्का बेला विद्यालयका कक्षाकोठालाई आवश्यकताअनुसार अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्न पनि सम्बन्धित विद्यालयलाई निर्देशन दिइएको छ ।
यस्तै, जोखिमयुक्त क्षेत्र पहिचान गरी त्यहाँ बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन गाउँपालिकाले आग्रह गरेको छ। सम्बन्धित वडा अध्यक्षमार्फत जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न आवश्यक पहल गर्न भनिएको छ । विपद्को समयमा तत्काल उद्धार तथा राहतका लागि गाउँपालिकाका एक्स्काभेटर, एम्बुलेन्सलगायतका सवारीसाधन तथा उद्धार सामग्री तयारी अवस्थामा राख्ने निर्णयसमेत गरिएको छ। आवश्यक परे निजी सवारीसाधनसमेत गाउँपालिकाको समन्वयमा प्रयोग गरिने जनाइएको छ ।
यसैबीच, सोताङ गाउँपालिका र थुलुङ दूधकोशी गाउँपालिका जोड्ने पुलमा वर्षाका कारण क्षति पुगेपछि थप जोखिम हुनसक्ने भन्दै मालवाहक ट्रक तथा हेभी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । गाउँपालिकाले पाँचवटै वडाका विपद् व्यवस्थापन समितिलाई सक्रिय राख्दै सम्भावित विपद्का बेला तत्काल उद्धार तथा राहतमा परिचालन हुने गरी तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
लगातारको वर्षाका कारण सम्भावित बाढी, पहिरो तथा अन्य जोखिमबाट जनधनको क्षति रोक्न पूर्वतयारीमा जोड दिइएको गाउँपालिकाले जनाएको छ









Discussion about this post