असोज ८, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा स्थानीयस्तरमा पाइने लोक्ता तथा अर्गेलीको सदुपयोग गरी नेपाली हातेकागज उत्पादन गर्ने उद्देश्यले १० दिने तालिम सुरु भएको छ । ‘स्वदेशी खाऔँ, स्वदेशी लगाऔँ, स्वदेशी उद्यमशीलतालाई प्रोत्साहन गरौँ’ भन्ने मूल नारासहित महिला उद्यमी महासङ्घ सोलुखुम्बुको आयोजनामा तथा महिला उद्यमी सङ्घ नेपाललगायत विभिन्न सङ्घसंस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा बिहीबारदेखि तालिम सुरु भएको हो ।
तालिमबाट जिल्लाको लेकाली क्षेत्रमा पाइने अर्गेलीको लोक्तालाई कच्चा पदार्थका रूपमा प्रयोग गरी नेपाली हातेकागज उत्पादन गर्न सकिने र स्थानीय स्रोतको सदुपयोगसँगै उद्यमशीलता प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । महिला उद्यमी महासङ्घ सोलुखुम्बुका अध्यक्ष शारदामाया तामाङले नेपाली हातेकागज उद्योग सञ्चालनमा आएपछि जिल्लाका लेकाली क्षेत्रमा पाइने लोक्ताको सदुपयोग हुने बताउनुभयो । उहाँले लोक्ता बिक्रीबाट स्थानीयवासीले आम्दानी गर्न सक्ने तथा स्थानीय कच्चा पदार्थमै आधारित उद्योग सञ्चालनको वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिम उद्घाटन कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले सोलुखुम्बुमा यसअघि नेपाली कागजलगायत केही उद्योग सञ्चालनमा आए पनि पछिल्लो समय यस्ता उद्योगको सङ्ख्या घट्दै गएको बताउनुभयो । स्थानीय स्रोत र साधनमा आधारित उद्योगलाई पुनः सञ्चालन तथा प्रवद्र्धन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।सोलुदुधकुण्ड नगरपालिका–४ का वडाध्यक्ष युवास तामाङले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गर्नुभयो । विगतमा विभिन्न प्रकारका तालिम सञ्चालन भए पनि त्यसको अपेक्षित रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उहाँले सीपलाई व्यवसायमा परिणत गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला सामुदायिक वन महासङ्घ सोलुखुम्बुका अध्यक्ष टङ्कीमाया बस्नेतले नेपाली कागजका लागि आवश्यक लोक्ता उपलब्ध गराउन सामुदायिक वन महासङ्घसँग सहकार्य गर्न आग्रह गर्नुभयो । उद्योग वाणिज्य सङ्घ सोलुखुम्बुका अध्यक्ष रामलाल श्रेष्ठले नेपाली कागज उद्योग सञ्चालनका लागि आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तालिमका प्रशिक्षकले आफूहरूले समेत लामो समयदेखि नेपाली हातेकागज उद्योग सञ्चालन गरेको अनुभव सुनाउँदै सोलुखुम्बुमा पर्याप्त मात्रामा कच्चा पदार्थ उपलब्ध रहेकाले नेपाली कागज उत्पादनको राम्रो सम्भावना रहेको बताउनुभयो । तालिममा सोलुखुम्बुका १५ जनाको सहभागिता रहेको छ ।










Discussion about this post