असोज १३, सोलुखुम्बु । अविरल वर्षासँगै गएको पहिरोका कारण अवरुद्ध बनेको सोलुखुम्बुको साल्मे–सिस्नेरी सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ।
सिद्धिचरण राजमार्गअन्तर्गत सोलुदुधकुण्ड नगरपालिका–११ स्थित साल्मे क्षेत्रमा पहिरोको जोखिमका कारण मंगलबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सडक बन्द गरिएको थियो। सडक बन्द गरी पहिरो व्यवस्थापन तथा मर्मतको काम अघि बढाइएकोमा अहिले सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै पहिरो व्यवस्थापनको काम सम्पन्न भई मर्मतपश्चात् सडक २४ घण्टा चलाउनेगरि पूर्ण रूपमा सञ्चालनमा आएको जानकारी दिएको हो।
सडक खुलेसँगै उक्त सडकखण्ड भएर आवतजावत गर्ने यातायातका साधन तथा यात्रुलाई सहज भएको छ । यद्यपि, वर्षाका कारण पहिरोको जोखिम कायमै रहन सक्ने भएकाले सडकखण्डमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
यसअघि लगातारको वर्षाका कारण सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक तथा यातायात सेवा प्रभावित हुँदै आएको थियो। साल्मे क्षेत्रमा समेत पहिरोको जोखिम बढेपछि सम्भावित दुर्घटना रोक्न सडक बन्द गरेर व्यवस्थापनको काम अघि बढाइएको थियो।









Discussion about this post