कार्तिक १५, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बु कोशी प्रदेशमै सबैभन्दा बढी जलविद्युत् उत्पादन गर्ने जिल्ला बनेको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले सार्वजनिक गरेको वार्षिक ‘प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन’ अनुसार सोलुखुम्बुमा सञ्चालित १० वटा जलविद्युत् आयोजनाबाट ३४९.८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्मको तथ्याङ्कअनुसार कोशी प्रदेशका विभिन्न जिल्लामा निर्माण सम्पन्न भएका ६४ वटा जलविद्युत् आयोजनाको कुल उत्पादन क्षमता ९७७.२ मेगावाट पुगेको छ । जिल्लागत अवस्थालाई हेर्दा सोलुखुम्बु पहिलो स्थानमा रहेको हो ।
सोलुखुम्बुपछि इलाममा सञ्चालित १८ वटा आयोजनाबाट २००.८ मेगावाट र संखुवासभाका १० वटा आयोजनाबाट १३६.७ मेगावाट विद्युत् उत्पादन भइरहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै ताप्लेजुङमा ९८.५ मेगावाट, पाँचथरमा ७१.९ मेगावाट र ओखलढुङ्गामा ६५.१ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । प्रदेशमा मोरङको ६.८ मेगावाट क्षमताको ग्रिड कनेक्टेड सोलार आयोजना र झापाको १० मेगावाट क्षमताको सौर्य विद्युत्समेत जोड्दा कुल विद्युत् उत्पादन क्षमता ९९४ मेगावाट पुगेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१र०८२ मा कोशी प्रदेशको कुल विद्युत् उत्पादन क्षमता ७८६.७ मेगावाट रहेकोमा समीक्षा वर्षमा मात्रै सात वटा नयाँ जलविद्युत् आयोजना सम्पन्न भएका छन् । जसबाट थप २०६.२ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ । यसैबीच, कोशी प्रदेशमा विद्युत् उत्पादन थप विस्तार गर्ने उद्देश्यले ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छ ।
२०८३ असार मसान्तसम्म आयोजनाको भौतिक प्रगति ७५.८१ प्रतिशत र वित्तीय प्रगति ६१.२८ प्रतिशत पुगेको छ । त्यस्तै १ हजार ६३ मेगावाटको माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना पनि विकासको चरणमा रहेका छन् । प्रतिवेदनले कोशी प्रदेशलाई बाह्रै महिना जलविद्युत् उत्पादन गर्न सक्ने सम्भावनायुक्त क्षेत्रका रूपमा औँल्याएको छ ।
प्रसारण लाइन तथा सबस्टेसन निर्माणमा भइरहेको प्रगतिले उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा जोड्नुका साथै भारत र बंगलादेशसम्म निर्यात गर्ने सम्भावनासमेत बढाएको छ । कोशी प्रदेशको ऊर्जा उत्पादनमा सोलुखुम्बुले कायम गरेको अग्रस्थानले जिल्लालाई जलविद्युत्को महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गरेको छ ।











Discussion about this post